गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २५ गते । चलचित्र ‘पिआर’ को फस्ट लुक सार्वजनिक गरिएको छ । आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुति रहेको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्ने हुनुभएको छ । चलचित्रको छायाङ्कन अस्ट्रेलियाका विभिन्न सहरमा हुने निर्माण पक्षले जनाएको छ । चलचित्रका लागि अस्ट्रेलियामा कलाकार तथा प्राविधिकको छनोट भइरहेको छ । सन् २०२५ को सुरुवातसम्ममा छायाङ्कन सुरु हुने निर्माण पक्षले जनाएको छ । फस्ट लुकमा हातमा सुटकेस बोकेर अस्ट्रेलिया आउन लागेको एक व्यक्ति देखिएका छन् । व्यक्तिलाई आधा महिला र आधा पुरुष रूपमा चित्रित गरिएको छ । महिलाको भागमा नेपालको झन्डा र पुरुषको भागमा कोटसहितको पश्चिमा पहिरन देखाइएको छ । त्यस्तै पोस्टरमा उडिरहेको हवाईजहाज पनि देखाइएको छ । जसले अस्ट्रेलियामा पुगेर नेपालीले स्थायी आवासीय प्रमाणपत्र (पिआर) का लागि गर्ने सङ्घर्षको कथामा चलचित्र बन्न लागेको इङ्गित गर्छ ।