गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २५ गते । नेपाल र भारतमा एकसाथ पुस ५ गते प्रदर्शन हुने नेपाली चलचित्र ‘बमबहादुर’ को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ ।
सञ्जीव सार्कीले निर्माण र जोन राईले निर्देशन गरेको यस चलचित्रले दार्जिलिङका दर्शकको प्रशंसा बटुल्न सफल रहेको थियो । प्रिमियरमा चलचित्र निर्माणमा परिश्रम र समर्पणको कदर गर्दै कलाकार र चलचित्रका टिममा रहेका सदस्यलाई सम्मान गरिएको थियो । ‘बमबहादुर’ भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका कथामा आधारित रहेको छ ।
चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह अवरोहलाई पर्दामा प्रस्तुत गरेको छ । चलचित्रका मुख्य पात्र बमबहादुरको सङ्घर्षमय जीवनले चलचित्रलाई प्रभावकारी बनाएको प्रिमियरमा चलचित्र हेरेका दर्शकले बताएका छन् ।