• ९ पुस २०८१, मङ्गलबार

भारतीय उच्च कूटनीतिज्ञ बङ्गलादेशमा

blog

ढाका, मङ्सिर २४ गते । विद्यार्थी नेतृत्वको क्रान्तिमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उत्पन्न दुई छिमेकी देशबिचको तनाव कम गर्न भारतका उच्च कूटनीतिज्ञ सोमबार बङ्गलादेश पुग्नुभएको छ । 

पूर्व प्रधानमन्त्री हसिना प्रशासनलाई भारतले कडा समर्थन गरेको थियो । बङ्गलादेशमा विद्यार्थीले सरकारी जागिरको कोटा प्रणालीमा गरिएको अनियमिततालाई देखाउँदै सुरु गरेको आन्दोलनले उचाइ लिँदा ७७ वर्षीया हसिना आफ्ना परिवारका केही सदस्यसहित हेलिकप्टरबाट नयाँ दिल्लीमा पुग्नुभएको थियो । बङ्गलादेशले उहाँको सुपुर्दगीको माग गर्ने घोषणा गरेको छ ।

नोबेल पुरस्कार विजेता तथा प्रजातान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने जिम्मा पाएको अन्तरिम सरकारका नेता मुहम्मद युनुसको नेतृत्वको प्रशासनसँग भारतीय कूटनीतिज्ञले औपचारिक छलफलका लागि ढाका पुगेको यो पहिलो अवसर हो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्र हसिनाको बहिर्गमनपछि दुवै देशका उच्च अधिकारीबिच पहिलो पटक व्यक्तिगत बैठकका लागि सोमबार बङ्गलादेशको राजधानी ढाका आइपुग्नुभएको हो । 

“दुई देशबिचको सम्बन्धमा गुणात्मक परिवर्तन आएको छ भन्ने कुरालाई स्विकार्नु आवश्यक छ,” बङ्गलादेशका विदेशमन्त्री तौहिद हुसेनले मिश्रको भ्रमणअघि आइतबार भन्नुभयो । वास्तविकतालाई स्वीकार गर्दै सम्बन्धलाई अगाडि बढाउनुपर्छ, उहाँले भन्नुभयो । मिश्रले ढाकामा रहँदा तौहिद र युनुससँग भेटघाट गर्ने कार्यक्रम थियो ।

भारतले मुस्लिम बहुल बङ्गलादेशको हसिनापछिको आफ्नो अल्पसङ्ख्यक हिन्दु समुदायलाई सरकारले प्रतिशोधपूर्ण आक्रमणबाट पर्याप्त संरक्षण गर्न नसकेको आरोप लगाउँदै आएको छ । गत महिना राजद्रोहको आरोपमा बङ्गलादेशमा एक प्रमुख हिन्दु धार्मिक व्यक्तिको गिरफ्तारीले तनावलाई अझ बढाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी र यसका समर्थकहरूले आफ्नो सरकारलाई ढाकाको बारेमा थप कठोर अडान लिन आग्रह गरेका छन् । युनुसको प्रशासनले हिन्दुहरूमाथि भएको आक्रमणलाई बारम्बार स्वीकारेको छ र निन्दा गरेको छ । कतिपय घटनाहरूमा उनीहरू धर्मभन्दा राजनीतिबाट प्रेरित भएको युनुस प्रशासनको बुझाइ छ । 

युनुसले भारतले हिंसाको मात्रालाई अतिरञ्जित गरेको र आफ्नो सरकारविरुद्ध ‘प्रोपोगान्डा अभियान’ चलाएको आरोप लगाउनुभएको छ । हसिनाको पलायनपछि बङ्गलादेशमा भारतविरोधी थुप्रै सडक प्रदर्शन भएका छन् । आइतबार विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सयौँ कार्यकर्ताले ढाकास्थित भारतीय उच्चायोग (दूतावास)सम्म मार्च निकालेका थिए तर प्रहरीले बाटो रोकेपछि शान्तिपूर्णरुपमा तितरबितर भएका थिए । रासस/एएफपी