• ४ माघ २०८१, शुक्रबार

गाउँ फर्किए पहिरो विस्थापित

blog

सुलीकोट समाचारदाता

सुलीकोट, मङ्सिर २४ गते । गोरखाको बारपाकमा २०७२ साल वैशाख १२ गते शनिबार गएको महाविनाशकारी भूकम्पले बारपाक सुलीकोट गाउँपालिका–४ स्थित खारुङ गाउँ नै तहसनहस बनाएको थियो । गाउँका सबै जसो घरमा क्षति पुगेको थियो । कतिपय स्थानीय विस्थापितसमेत भएका थिए । 

खारुङवासी भूकम्पको पीडा भुल्न नपाउँदै सोही सालको असारमा अविरल वर्षाले सिङ्गो गाउँ पहिरोको जोखिममा परेपछि खारुङ गाउँका बासिन्दालाई पीडा थपियो । पहिरोले गाउँ नै भासिने तथा जमिन चिरा चिरा परेकाले खारुङका आधा दर्जनभन्दा बढी घरपरिवार विस्थापित भएर कोही चितवन, गोरखाबजार, छेवेटार, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेका थिए ।

पहिरोले सिँगो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सहयोगमा पहिरो नियन्त्रणको काम अघि बढाएको थियो । सो काम सम्पन्न भएपछि झन्डै नौ वर्षपछि खारुङ गाउँको पहिरो नियन्त्रणमा आएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो । 

अहिले भूकम्प र पहिरोले थिलथिलो बनाएको आफ्नो पुरानो थातथलोमा जसोतसो भत्किएका घर मर्मत र पुनर्निर्माण गरेर खारुङवासी पुनः बस्न थालेका थिए । पहिरो नियन्त्रणमा आएसंँगै बाध्यताले गाउँ छाडेकाहरू पुरानै थातथलोमा फर्किन थालेको स्थानीय सुकबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले गाउँले सबै तितरबितर नै भएका थिए । अहिले पहिरो नियन्त्रणमा आएपछि गाउँ छाडेकाहरू पनि फर्किन थालेका छन्, आफ्नो धर्म, संस्कार र संस्कृत एवं समाजले गर्दा पनि एक ठाउँमा भएका हौँ  ।”

जोखिमयुक्त ठाउँमा ग्याबिन वालसहित अम्रिसो, उतिस, रानी खनायोलगायतका वृक्षरोपण गरेर पहिरो नियन्त्रण गरिएको एफएओका विपत् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङ्ग गुरुङले जानकारी दिनुभयो । पहिरो नियन्त्रण भएपछि गाउँ छाडेर बसाइँ गएकाहरू अहिले गाउँमै फर्किएका उहाँको भनाइ छ । अहिलेसम्म पहिरोले विस्थापित भाएका छ घरपरिवार गाउँ फर्किसकेका गुरुङले बताउनुभयो । 

पहिरोबाट विस्थापित स्थानीय शेरबहादुर गुरुङले भन्नुभयो, “पहिरोले गाउँ नै लैजान थालेपछि परिवार नै गाउँ छाडेर बसाइँ गएका थियौँ । नजिक बस्ने ठाउँ थिएन, घरवरपर जताततै पहिरोको त्रासले झन्डै नौ वर्ष चितवनमा गएर बसे पनि अहिले पहिरो रोकिएपछि गाउँ नै फर्किएका छौँ ।” 

पहिरो नियन्त्रण भएसँगै सुन्दर र रमणीय ठाउँमा ढुक्कले बस्न सक्ने अवस्था रहेको गुरुङले बताउनुभयो । पहिरो नियन्त्रणका लागि लगाइएको अम्रिसोबाट समूह बनाएर आय आर्जन गर्ने लक्ष्यसमेत लिएको गुरुङको भनाइ छ ।

गाउँमा अहिले पहिरोको पूर्वसूचना दिन पूर्णचेतावनी प्रणालीसमेत जडान भएकाले खारुङवासीले सुरक्षित महसुस गर्न थालेका गाउँपालिकाका अध्यक्ष भट्टको भनाइ छ ।