झापा, मंसिर २३ गते । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको प्राथमिकता राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धि भएको बताउनुभएको छ ।
आज झापाको दमकमा नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि रक्षा गर्न सरकारले आर्थिक समृद्धिमा जोड दिएको प्रष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री सिंहले जनताको करबाट बनेका ठुला संरचना लामो समय प्रयोगमा नआउँदा विग्रने भन्दै उहाँले बनेको संरचना प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो । धरहरा, दमकको बिजनेस कम्प्लेक्स र बुटवलको सभा हल लगायतका विशिष्ट संरचना सञ्चालनका लागि सरकारले विशेष ध्यान दिइरहेको भन्दै ती संरचनाले आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले कांग्रेसको अहिलेको समस्या पार्टी व्यवस्थापन रहेको भन्दै पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । पटक पटकको आन्दोलनबाट प्राप्थ उपलब्धि रक्षा गर्नका लागि पनि कांग्रेसलाई ठिक ठाउँमा हिँडाउनुपर्ने उहाँको भनाइ छ ।