• १ माघ २०८१, मङ्गलबार

झापामा सुरक्षा व्यवस्था कडा

blog

प्रधानमन्त्री ओलीले उद्घाटन गर्न तयारी गरिएको दमक भ्यूटावर तथा ब्यापारिक कम्प्लेक्स ।

बिष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २३ गते । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा निर्माण सम्पन्न भएको दमक भ्यूटावर तथा व्यापारिक कम्लेक्सको उद्घाटनसहित विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला झापा आउनु भएको छ । 

आइतबार बिहान उहाँ भद्रपुर विमानस्थल हुँदै झापा आउनुभएको हो । नेकपा (एमाले) का अध्यक्ष समेत रहनु भएका ओली झापा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । ओली झापा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षाकर्मीहरूको भनाइ छ ।  

कोशी प्रदेश नामकरणको विषयमा असन्तुष्टि जनाउँदै आएका समूहहरूले प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने तथा प्रदर्शन गर्ने तयारी गरेको प्रहरीले सूचना पाएपछि सुरक्षा व्यवस्था कडा बनाएको बताइएको छ । रास्वपाका कार्यकर्ताले पनि प्रधानमन्त्री ओलीको विरोधमा मेचीनगरमा प्रदर्शन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सवारी रहेकाले सुरक्षा व्यवस्था थप कडा पारिएको बताउनुभयो । दुई दिनसम्म प्रधानमन्त्री ओली गृहजिल्ला झापा रहनु हुनेछ । जिल्लाका चोक तथा बजार क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत रहेका पहिचानवादी बताउने समूह, रवि लामिछानेको रिहाको माग गर्दै आन्दोलन गरिरहेका रास्वपाका स्थानीय नेता कार्यकर्ता र दुर्गा प्रसाईँको रिहाइको माग गर्दै आन्दोलनरत रहेका प्रसाईँका समर्थकहरूले सडकमा प्रदर्शन गर्न सक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ ।