दृश्य
समय: अपराह्नको समय । स्थान: सुकुमवासी बस्ती । धेरैजसो छाप्रो नदीले बगाएको छ । बस्तीको वातावरण मसानघाट जस्तै चकमन्न र भयावह बनेको छ । कता कता मानिसहरू बोलेको, रोएको आवाज आइरहेको छ । बचेका केही छाप्राहरूको नदीतर्फको भाग बगाएको छ । चुनीमाया छाप्रोको अवस्था देखेर रोई रहेकी छे । यत्तिकैमा सामाजिक अभियन्ता आशाकिरण छाप्रोमा आइपुग्छिन् । उनको पछि–पछि एक जना पत्रकार र एक जना ठुलो झोला बोकेको भरिया पनि सँगै छ । पत्रकार छाप्राको दृश्य क्यामेरामा कैद गर्न व्यस्त छ ।
आशाकिरण: हेर त छाप्राको अवस्था । कुनै कुरा बाँकी नराखी बगाएछ । नरोऊ बहिनी । विपत्का बेला सबैलाई यस्तै हो ।
चुनीमाया: (हतारहतार आँशु पुस्दै) नरोएर के गर्ने दिदी । बाढीले केही बाँकी राखेन ।
आशाकिरण: छाप्रा त आफ्नै हो नि ?
चुनीमाया: छाप्राको मालिक त अरू नै छ । हामी त यहाँ भाडा तिरेर बस्दै आएका छौँ ।
आशाकिरण: यो छाप्रा आफ्नो होइन ? (पत्रकारतिर पुलुक्क हेर्छिन् ।)
चुनीमाया: (सलको सप्कोले आँशु पुस्दै) होइन नि दिदी । यहाँका धेरै जसो छाप्राहरू भाडाकै त हुन् नि । कति वटाको त नामो निशान छैन ।
आशाकिरण: श्रीमान् खोई त ?
चुनीमाया: छोरी खोज्न गा’छ ।
आशाकिरण: (आश्चर्य मान्दै) किन ? छोरी कता गई ?
चुनीमाया: हिजो राति बस्तीमा बाढी पसेपछि हामी लोग्नेस्वास्नी सामान बचाउनतिर लाग्यौ । पछि छोरी खोज्दा छोरी छाप्रोमा थिएन ।
आशाकिरण: कतै उद्धार टोलीले भेटाएर राखिदिएको हुन सक्छ । शिविरमा बुझ्नु पर्छ ।
चुनीमाया: मेरी छोरी जीवित छन् कि मरिसकी, बुढो नआई थाहा हुँदैन दिदी ।
चुनीमाया उसै गरी फेरि सुकसुकाउन थाल्छे ।
आशाकिरण: छिः के भनेकी त्यस्तो । शुभ शुभ बोल्नु पर्छ । बुवासँगै छोरी फर्केर आउँछे । ढुक्क बस । (भरियाले बोकेको ब्यागबाट एक बोतल पानी, भुजा र दालमोठको एउटा एउटा पाकेट दिँदै) ल, यो समाऊ । म दाताहरूसित तिमीहरूका लागि राहतको अपिल गरौँला । मन बलियो गरेर बस । सब ठिक हुन्छ ।
अभियन्ता आशाकिरण, पत्रकार र भरिया अर्काे छाप्रातिर जान्छन् । यति नै बेला शमशेर नियास्रो अनुहार पारेर छाप्रोमा फर्केको छ ।
चुनीमाया ः (लोग्नेलाई एक्लै देखेपछि) ल, खै त छोरी ? भेटेनौ ?
शमशेर ः (लामो सुस्केरा हाल्दै रुन्चे स्वरमा) धेरै ठाउँ खोजँे । धेरैलाई सोधेँ । प्रहरी चौकीसम्म पुगेँ तर कसैले देखेँ भनेनन् बुढी । हाम्री छोरीलाई बागमतीले निल्यो बुढी । (ग्वाँ ग्वाँ रुन थाल्छ । लोग्ने रोएपछि चुनीमाया पनि लोग्नेलाई अँगालो मारेर रुन थाल्छे । केहीक्षण सँगै रोएपछि) चुनी, भो नरो । (आँशु पुछिदिँदै) हाम्रो भाग्य नै यस्तो रहेछ । मेयरसापले यहाँ बस्न जोखिम छ, बस्ती खाली गर भन्दा उल्टै ढुङ्गामुढा ग¥यौँ । आखिर त्यति बेलै छोडेर अन्तै कतै गएको भए यसरी छोरी गुमाएर निःसन्तान हुनु पर्ने थिएन ।
चुनीमाया ः पसलका लागि ल्याएको कपडा, चुल्हो, भाँडाकुँडा, अन्नपात सबै बगाएर लग्यो बुढो । अब साहुको ऋण, छाप्राको भाडा के गरी तिर्ने होला ? (शमशेरको मलिन अनुहारमा हेर्दै) यतिन्जेल केही खाएको छैनौ होला ?
शमशेर ः तैँले पनि त केही खाएकी छैनस् होली नि । केही भए पो खान्थिस् । व्यापार गरेको पच्चिस सय रुपियाँ कमेजको खल्तीमा थियो, त्यो पनि मालसामानसँगै बगाएछ ।
चुनीमाया ः (दालमोठ र भुजाको पाकेट खोल्दै) एक जना दिदी पत्रकार लिएर आएकी थिइन् । उनैले दिएर गएकी । खाऊ ।
शमशेर ः खान मन छैन । (भुजा र दालमोठतिर हेर्दै)
चुनीमाया ः खान त मलाई पनि कहाँ मन छ र ! तर भोकभोकै बाँच्न सकिँदैन बुढो । यति खाएर छोरी खोज्न जाऔँ । कतै भेटि पो हाल्छ कि ।
शमशेर ः ठिकै भनिस् । मलाई त अझै कमलीसित भेट हुन्छ भन्ने आशा छ ।
दुवै जनाले भुजा दालमोठ पानीसित कुपुकुपु खान्छन् र लोग्नेस्वास्नी छोरी खोज्न छाप्रोबाट प्रस्थान गर्छन् । दृश्य परिवर्तन
समय ः दिउँसो । स्थान ः चव्रmपथ छेउको खुला ठाउँ । बाढीपीडितहरू दिउँसोको भोजन गर्न लाइन लागेर बसेका छन् । लाइन लामो छ । शमशेर र चुनीमाया पनि लाइनमा खाना पर्खेर बसेका छन् ।
शमशेर ः चुनी, यसरी कति दिन राहतको भरमा बस्ने होला । बरु गाउँ फर्काैं ।
चुनीमाया ः यतिका वर्ष भयो गाउँ छाडेर आएको । अब गाउँ फर्केर के गर्ने ?
शमशेर ः पौरख गर्नलाई अभैm पाखुरा मजबुत छ चुनी । गरौँला नि केही न केही । किन चिन्ता गर्छेस् ।
चुनीमाया ः जाने भए जाऔँ न त ।
स्वयंसेवकहरू खाना बाँड्दै उनीहरूसम्म आइपुगेका छन् । शमशेर र चुनीमायाले पेटभरि दाल–भात खान्छन् ।
शमशेर ः नयाँ बसपार्कबाट गाउँ जाने बस दुई बजे छुट्छ । (उठ्दै) बरु लागाँैं ।
चुनीमाया ः अनि बस चढ्नलाई भाडा चाहिएन ?
शमशेर ः छ मसँग । बिहान रामलालसित भेटेर बाह्र सय जति लिएँ । अरू पछि दिने भनेको छ ।
उनीहरू महानगरको बस चढेर नयाँ बसपार्कतिर प्रस्थान गर्छन् ।
दृश्य परिवर्तन
काठमाडौँको नयाँ बसपार्क । विभिन्न गन्तव्यतिर जाने लामो दुरीका बसहरू लहरै रोकिराखेका छन् । आउने जाने यात्रुहरूको बाक्लै चहल पहल छ । काउन्टरबाट माइकमा यात्रुहरूलाई सूचना दिने काम भइरहेको छ । शमशेरले धादिङ जाने दुई वटा टिकट लिन्छन् र दुवै प्रतीक्षालयमा गएर बस्छन् । यत्तिकैमा एउटी बालिका भिख माग्दै उनीहरू भएतिर आउँछे ।
चुनीमाया ः (लोग्नेलाई कोट्याएर बालिकातिर इङ्गित गर्दै) उता हेर त, हाम्रै कमली जस्तै ।
शमशेर ः (राम्ररी नियाल्दै) ल, यो त हाम्रै छोरी जस्ती छे त चुनी ।
चुनीमाया ः जसको छोरी देखे पनि आफ्नै जस्तो लाग्ने है बुढो ?
शमशेर ः हेर्न, हाम्रै कमली जस्तै छे ।
चुनीमाया ः जाऔँ जाऔँ । बस छुट्ने बेला भयो ।
दुवै बेन्चबाट उठ्छन् र बस भएतिर बढ्छन् ।
बालिका ः (दौडँदै आएर पछाडिबाट चुनीमायाको कुर्तामा समाउँदै)
मैले बिहानदेखि केही खाएकी छैन आन्टी । बिस्कुट खाने पैसा दिनु न ।
चुनीमायालाई अहिले कमली बोलेकी जस्तो लाग्छ र फर्केर हेर्दा त्यो बालिका उनीहरूकै छोरी कमली हुन्छे । आमा छोरीको नजर जुझ्छ ।
चुनीमाया ः (बालिकालाई एकाएक अँगालो हालेर रुन्चे स्वरमा) छोरी, कमली तँ यहाँ ?
कमली ः (चुनीमायालाई च्याप्प समातेर) ममी !
चुनीमाया ः (अघि अघि लागेको लोग्नेतिर हेरेर चिच्याउँदे) औ बुढो ! यता हेर त । हाम्रो छोरी भेटियो ।
शमशेर ः (फर्केर हेर्दा आमाछोरीलाई अँगालोमा बाँधिएको देख्छन् र दौड्दै आउँछ र राम्ररी नियाल्दै) कमली मेरी छोरी ! (मायाले सुम्सुमाउँदै) यति दिन कहाँ थियौ छोरी ? हामीले तिमीलाई कहाँ कहाँ खोजेनौ ।
(यता बसले प्रस्थान गर्नलाई हर्न बजाएर अन्तिम सङ्केत दिन्छ । शमशेर र चुनीमाया छोरीलाई डो-याउँदै हतार हतार बस चढ्छन् । बस छुट्छ ।) मधुपर्क
हेटौँडा, मकवानपुर