नेपाल र छिमेकी मित्रराष्ट्र चीनबिचको सम्बन्ध केवल छिमेकी मुलुकको हैसियतमा मात्र नभएर प्राचीन कालखण्डदेखि नै वैवाहिक, व्यापारिक तथा कलाकारिताको सम्बन्ध रहिआएको छ । यस सम्बन्धमा हेर्दा तिब्बती सम्राट स्रोङ्चन गम्पोसँग नेपालका लिच्छविकालीन राजा अंशुवर्माकी छोरी भृकुटीको विवाह भएको थियो । जसले गर्दा नेपाल र चीनबिचमा वैवाहिक तथा कुटुम्बेरी नाता जोडिएको देखिन्छ । मल्लकालीन राजा अभयमल्लको शासनकालमा मूर्तिकार अरनिको चीन गएर आफ्नो वास्तुकला देखाएर प्रसिद्धि कमाएका थिए । यसै गरी चीन र नेपालबिचमा सदियौँ कालदेखि व्यापारिक सम्बन्ध रहेको वर्णन प्रशस्तै पढ्न पाइन्छ । नेपाल र चीनको आपसी मैत्री सम्बन्धको इतिहास लामो भए पनि औपचारिक रूपमा सन् १९६१ अक्टोबर ५ देखि मात्र सम्बन्ध कायम भएको इतिहास पढ्न पाइन्छ ।
नेपाल र चीनबिचमा भएको औपचारिक सम्बन्धदेखि नै चीन सरकारबाट नेपालको हितका निम्ति विभिन्न क्षेत्रको विकास तथा समृद्धिका लागि आर्थिक, भौतिक तथा प्राविधिक सहयोग प्रदान हुँदै आएको सर्वविदितै छ । त्यस प्रकारका सहयोगबाट स्थापित उद्योगधन्दा बचाउन र त्यसबाट फाइदा उठाउन नसक्नु नेपालको ठुलो कमजोरी हो । भृकुटी कागज कारखाना, हेटौँडा कपडा उद्योग, काठमाडौँ थापाथली–भक्तपुर सूर्यविनायक ट्रलिबस सेवा, चिनी उद्योग आदि । यस प्रकारका उद्योग तथा सेवा निरन्तर चल्न सकेको भए त्यसले दिने सन्देश सबै दातृ राष्ट्रका लागि सहयोगी हात अघि बढाउन सहायक हुन्थे ।
करिब ७ वर्षदेखि चर्चा र राजनीतिक विवादकै रूपमा रहेको चीनबाट प्रस्तावित बिआरआई परियोजना अन्ततः आज आएर सम्झौतामा हस्ताक्षर भएको कुराले नयाँ आशा जगाएको छ । नेपाली राजनीतिक बेमेलका कारण स्वीकार नगरी रहेको यो योजना हालै मात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको क्रममा सम्झौतामा हस्ताक्षर हुनुलाई नयाँ आशा जगाउने सम्झौताको रूपमा लिन सकिन्छ । यो योजना केवल चीन र नेपालको मात्र सम्बन्ध जोडिने नभएर विश्वका आधाभन्दा बढी मुलुकसँगको सम्बन्ध रहने हुँदा यस योजनालाई धेरै महìवाकाङ्क्षी योजना मान्न सकिन्छ । यति मात्र होइन विश्वको आर्थिक, भौतिक तथा सामसिक शक्तिको १ नम्बरकै निकटमा पुगिसकेको चीनसँग यो योजनामा जोडिन पाउनु नेपालका लागि गौरवको विषय हो ।
सार्वजनिक गरिएको उक्त बिआरआई सम्झौताका १० आयोजनाको सङ्क्षिप्त रूप हेर्दा पहिलो नम्बरमा टोखा–छहरे सुरुङ्मार्ग जो ३२ किमी लामो रहेको देखिन्छ । दोस्रोमा हिल्सा–सिमिकोट सडक योजना जसमा सडक कालोपत्रेदेखि पुल निर्माणका योजना छन् । तेस्रोमा किमाथाङ्का–खाँदबारी सडक र पुल निर्माण योजना रहेको पाइन्छ । जुन योजनाले विराटनगरदेखि हिले लेगुवाघाट हुँदै किमाथाङ्कासम्म जोड्ने राजमार्गको ३४५ किमी रहेकाले पूर्वका उत्तर दक्षिण भौगोलिक क्षेत्र जोड्ने सुमार्ग नै हुने देखिन्छ । चौथो योजना अन्तर्गत जिलोङ–केरुङ र काठमाडौँ राजधानीलाई रेलमार्गद्वारा जोड्ने धेरै राम्रो योजना देख्न सकिन्छ । जुन रेलमार्ग रसुवागढीदेखि काठमाडौँको ७२ किमीभन्दा लामो दुरी रेलमार्गद्वारा जोडिनाले यो योजना व्यापारिक दृष्टिले पनि धेरै महत्वको हुने छ ।
पाँचौँ योजना अन्तर्गत अमरगढी सिठी हल प्रोजेक्ट रहेको देखिन्छ । जुन योजनाले सरकारको १० स्मार्ट सिटी अन्तर्गत अमरगढीको राम्रो उन्नति हुने देखिन्छ । यसै गरी, छैटौँ योजनामा जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन रहेकाले ती क्षेत्रको उन्नतिमा समृद्धिको मार्ग निर्माण हुने देखिन्छ । सातौँ परियोजनामा मदन भण्डारी प्राविधिक विश्वविद्यालय रहेको पाइन्छ । यस परियोजनाबाट प्राविधिक शिक्षा अध्ययन अनुसन्धानमा ठुलो टेवा पुग्ने आशा छ । आठौँ योजनामा काठमाडौँ साइन्टिफिक सेन्टर र साइन्स म्युजियम छ । यसबारे विस्तृत विवरण नआए पनि यसबाट विभिन्न वैज्ञानिक अध्ययन अनुसन्धानमा सघाउ पु¥याउने भरोसाका रूपमा लिन सकिन्छ । सम्झौताको ९ औँ परियोजना अन्तर्गत चीन–नेपाल औद्योगिक पार्क दमक परेको छ । जस अन्तर्गत दमक नगरपालिका १०, कमल गापा ७ र गौरादह नरपालिका ५ समेतलाई समेटेर ठुलो आर्थिक लगानीमा औद्योगिक पार्क निर्माण गरिने भएकाले यसबाट औद्योगिक विकासको क्षेत्रमा नयाँ आयामको विकास हुने आधारसिला बन्ने आशा तथा अपेक्षा छ । दसाँै परियोजना अन्तर्गत झापा स्पोर्ट्स एन्ड एथलेटिक्स कम्ल्पेक्स रहेको देखिन्छ । यस परियोजनाबाट खेलकुद क्षेत्रको विकास र विस्तारका लागि यो एक कोसेढुङ्गा साबित हुने छ ।
सम्झौता अनुसारका यी योजनाले देशको समृद्धिका लागि मूल आधारशीला खडा हुने आशा छ । यति मात्र नभएर अझ बढीभन्दा बढीले योजना लिएर देशलाई उद्योगमयसमेत बनाउन आवश्यक छ । विगतको समयमा पनि मित्रराष्ट्र चीनकै सहयोगमा धेरै औद्योगिक क्षेत्रमा सहयोग लिएर विभिन्न उद्योगधन्दा सञ्चालन भएका थिए । यति मात्र होइन आजको विश्वमा आर्थिक, औद्योगिक तथा सामरिक क्षेत्रको शिखरमा पुगेको चीनसँगको सम्बन्ध बढाएर ऊसँग साझेदारी गरेर अघि बढ्न पाउनु हाम्रा लागि गौरवको विषय हो । तसर्थ चीनसँग पाइने कुनै पनि सहयोगलाई राजनीतिक, सामाजिक वा अन्य प्रभावको आधारमा अस्वीकार गर्ने जस्ता भूल हामीबाट कदापि हुनु हुँदैन किनकि चीन भनेको नजिकको छिमेकी मात्र होइन संसारकै दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक हो ।
मित्रराष्ट्र चीनबाट नेपालको हित तथा समृद्धिका लागि विभिन्न क्षेत्रमा पहिलेको समयमा पनि सहयोग हुँदै आएको छ । नेपालले त्यसको सही सदुपयोग गर्न नसक्नु हाम्रै कमजोर हो । अब विगतको गल्ती कमजोरी सुधारेर हरेक सहयोगबाट होस् वा ऋणबाट सञ्चालित विकासका योजनालाई दिगो र स्थायी रूपमा कार्यान्वयन गरेर अधिकतम फाइदा लिन सक्नु पर्छ । विगत र वर्तमानको सरकारी कमजोरी कायम रहने हो भने कसैको विश्वास र भरोसा पनि रहने छैन । हामी सानो मुलुकको नाताले सबैको साथ र सहयोग लिने दिशामा अघि बढ्नु पर्छ । दक्षिणको मूल्यमा उत्तर चिढाउने र उत्तरको मूल्यमा दक्षिण चिढाउने काम हामीले कदापि गर्नु हुन्न । हामी त दुई ठुला छिमेकीबाट सक्दो सहयोग लिएर मुलुक निर्माणमा अग्रसर हुनु पर्छ । छिमेकी मित्रराष्ट्रका सहयोगी हातलाई ससम्मान स्वागत गर्नु पर्छ नकि बन्द गर्ने वातावरण निर्माण । अनि मात्र समृद्धिको सपना साकार पार्न सकिने छ ।