राधाकृष्ण डुम्रे
वालिङ, मङ्सिर २२ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक रहेको बताउनुभएको छ । स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल गह्रौँसुर मन्दिरको दर्शनपछि बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले दोहोरो रूपमा कालीगण्डकी कोरिडोर मार्फत जोड्न सकिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “पाल्पाको रामपुरबाट चापाकोट, वालिङ हुँदै पर्वत जोड्न सकिन्छ ।” सडकलाई जोड्न आफूले पहल गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। स्याङ्जाको विकासलाई कोरिडोरले जोड्न अपरिहार्य रहेको उहाँको भनाइ छ ।
नेपालमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले यसको विकासमा सरकारले काम गरिरहेको बताउनु भयो । धर्म,संस्कार र संस्कृति नेपालको पहिचान भएको सिंहको भनाइ छ ।
स्याङ्जाको कालीगण्डकी–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसमा सञ्चलन हुन लागेको धार्मिक महायज्ञको उद्घाटन गर्न जिल्ला आउनुभएका उपप्रधानमन्त्री सिंहले गह्रौँकालिका मन्दिरको भ्रमण गर्नुभएको हो । सो अवसरमा मन्दिरको पुनर्निर्माण र व्यवस्थापन गर्दै आउनुभएका समाजसेवी डोलराज शर्माले मन्दिर तथा यसमा भइरहेका विकास निर्माणका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री सरस्वती अर्याल,वालिङ नगरपालिकाका निवर्तमान प्रमुख दिलिपप्रताप खाण,मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रचाप खाण लगायतले बोल्नुभएको थियो ।