गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १९ गते । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमै आमसर्वसाधारणका समस्या र गुनासा प्रत्यक्ष रूपमा सुन्ने नयाँ अभियान थालनी गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमै पुगेका नागरिकका पीरमर्का सुन्दै उहाँले सेवा प्रवाहलाई जनमैत्री बनाउने प्रतिबद्धता जनाउनुभएको छ । बुधबार विशेष गरी मोफसल र दुर्गम गाउँबाट राजधानी आएका सर्वसाधारणले आफ्ना समस्या गृहमन्त्रीसमक्ष सिधै राख्न पाए ।
सो अवसरमा मन्त्री गुरुङले नागरिकका समस्या टिपोट गर्दै तत्काल समाधान हुन सक्ने विषयमा सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो । छलफलका क्रममा अधिकांश सर्वसाधारणले न्याय प्राप्तिको प्रक्रिया अझै झन्झटिलो र पहुँचवालाको नियन्त्रणमा रहेको गुनासो गरेका थिए । उनीहरूले शक्ति र राजनीतिक पहुँच नहुँदा सानातिना मुद्दामा पनि लामो समय अन्याय सहेर बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै सरकारको ध्यानाकर्षण गराए ।
भेटका क्रममा एक सर्वसाधारणले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “धेरै गृहमन्त्री फेरिए तर हामी जस्ता निमुखा जनताको गुनासो सुन्न समय दिने मन्त्री पाउन सकेका थिएनौँ । सिंहदरबार छिर्नै गाह्रो हुने अवस्थामा गृहमन्त्री आफैँले हाम्रो कुरा सुनिदिनुभएकोमा आभारी छौँ ।” नागरिकका कुरा सुनिसकेपछि गृहमन्त्री गुरुङले जनताका गुनासालाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभयो । राज्यको उपस्थिति सबै नागरिकका लागि समान हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “अन्यायमा परेका कसैले पनि पहुँच नभएकै कारण न्यायबाट वञ्चित हुनुपर्ने छैन । राज्यको सेवा र न्यायको पहुँचलाई गाउँ–गाउँसम्म पु¥याउन मन्त्रालयले आवश्यक कदम चाल्ने छ ।”