• १९ चैत २०८२, बिहिबार

फर्किए काजका चिकित्सक

डडेलधुरा अस्पतालमा विशेषज्ञ सेवा

blog

अमरगढी समाचारदाता

डडेलधुरा, चैत १९ गते । सरकारले काजमा बसेका चिकित्सकलाई दरबन्दी रहेको कार्यालयमा पठाउँदा डडेलधुरा अस्पतालले चार जना विशेषज्ञ चिकित्सक पाएको छ । पहुँचका भरमा सुगम क्षेत्रमा काजमा बसेका विशेषज्ञ चिकित्सकलाई दरबन्दी रहेको कार्यस्थलमा फर्काउने सरकारी अभियान अन्तर्गत डडेलधुरा अस्पतालका चार जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गरिएपछि अस्पतालले पुनः चिकित्सक पाएको हो । सङ्घीय सरकारमातहत रहेको सुदूरपश्चिमको एक मात्रै डडेलधुरा अस्पतालमा विषय विशेषज्ञ चिकित्सक नबस्दा पहाडी ग्रामीण भेगका गरिब, निमुखा जनता खर्चिलो उपचार गर्न बाध्य थिए  ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको निर्णयपछि स्वास्थ्य सेवामा सन्तुलन कायम गर्ने उद्देश्यसहित पहिलो चरणमा १४ जना नवौँ र १० औँ तहका विशेषज्ञ चिकित्सकलाई मूल कार्यस्थलमा फिर्ता पठाइएको छ । सो निर्णयानुसार डडेलधुरा अस्पतालमा दरबन्दी रहेका चार विशेषज्ञ चिकित्सकलाई पनि काजबाट फिर्ता बोलाइएको छ ।

काज फिर्ता हुने चिकित्सकमा नवौँ तहका डा. सन्तोषकुमार गुप्ता, कन्सल्टेन्ट डर्माटोलोजिस्ट, डा. मिसन्ता शर्मा, कन्सल्टेन्ट सर्जन डा. नवीनचन्द्र भट्ट र वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सुयोग्य वाग्ले रहनुभएको छ । उहाँहरू हाल विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय तथा स्वास्थ्य संस्थामा काजमा कार्यरत हुनुहुन्थ्यो । मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकको अभाव हटाउने, लामो समयदेखि सुगम रोज्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने र स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको हो ।

सो निर्णयपछि डडेलधुरा अस्पतालमा विशेषज्ञ सेवामा सुधार आउने र स्थानीय नागरिकले आफ्नै जिल्लामा सहज रूपमा उपचार सेवा पाउने अपेक्षा गरिएको छ । यसका लागि आफूहरू र आफ्नो पार्टीले विशेष पहल थालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेलधुराका सभापति सुरेन्द्र अवस्थीले प्रतिक्रिया दिनुभएको छ । उहाँले एक दिनअघि मात्रै डडेलधुराका समानुपातिक प्रतिनिधि सभा सदस्य आकृति अवस्थीलगायत आफूहरूले स्वास्थ्यमन्त्रीलाई भेटेर समस्याबारे जानकारी गराएको बताउनुभयो । प्रतिनिधि सभा सदस्य अवस्थीले अस्पतालका सवाल र समस्याबारे स्वास्थ्यमन्त्रीलाई जानकारी गराएपछि चिकित्सकको काज फिर्ता भएको प्रतिव्रिmया दिनुभयो ।