पुष्कर भण्डारी
डडेलधुरा, चैत १९ गते । डडेलधुराको विकट चुरे पर्वतको भावर हालको परशुराम नगरपालिका–१, गिरेगडागाउँको दलित परिवारमा जन्मिएकी हरिना कामी यस पटकको निर्वाचनपछि प्रतिनिधि सभा सदस्य हुनुभएको छ । उहाँ नेपाली कांग्रेसको दलित कोटाबाट समानुपातिक सदस्य हुनुभएको हो ।
चुरे भएकाले कोमल भूभागका खहरेखोलाले बाढीपहिरोलगायतका विपत्को उच्च जोखिममा परशुराम नगरपालिका छ । विपत्सँग जुझ्दै विपत् व्यवस्थापन जिल्ला सञ्जालको अध्यक्ष भएर काम गरेको अनुभव उहाँसँग छ । बुवा शङ्कर कामी र आमा रेवतीदेवी कामी लुहारका सात सन्तानमध्ये चौथो सन्तानका रूपमा हरिनाको जन्म भएको थियो । उहाँको विवाह परशुराम नगरपालिका–१२, तुलाभाडी बस्नुहुने डिल्लीराम कामीसँग भयो । उहाँका दुई वटा छोरा छन् ।
उहाँले विद्यालयमा अध्ययन गर्दा नै नेपाल विद्यार्थी सङ्घको सदस्य भएर राजनीतिको यात्रा सुरु गर्नुभएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीका कारण देशमा सङ्कटकाल उत्सर्गमा पुग्दा उहाँ नेविसङ्घको सदस्य बन्नुभएको थियो । दलित गरिब परिवार भएकाले उच्च शिक्षा हासिल गर्न नसकेका उहाँ कांग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घको सदस्य हुँदै तत्कालीन जोगबुडा गाउँ विकास समितिको कोषाध्यक्ष, जिल्ला प्रतिनिधि हुनुभएको थियो ।
पछि नेपाल तरुण दलको सदस्य हुँदै पोखरामा भएको चौथो महाधिवेशनमा उहाँ जिल्ला प्रतिनिधि बन्नुभयो । २०८० सालमा उहाँ तरुण दलको केन्द्रीय सदस्यमा मनोनीत हुनुभयो । उहाँ गाउँकै शैलेश्वरी माविको व्यवस्थापन समिति अध्यक्षसमेत बन्नुभएको थियो । केही दिनअघि मात्रै उहाँको कार्यकाल सकिएको छ ।
राजनीति, विपत् व्यवस्थापनसँगै सामाजिक क्षेत्रमा सक्रिय कामी व्यावसायिक कृषक पनि हुनुहुन्छ । केही वर्षअघिसम्म उहाँले सात वटा जर्सी गाई पालेर दैनिक ३५–४० लिटरसम्म दुध बिक्री गर्दै आइरहनुभएको थियो । राजनीतिसँगै पशुपालन व्यवसाय र परम्परागत कृषिमा श्रीमान्सँगै देवर, देउरानीलगायत घरपरिवारको राम्रो साथसहयोग रहेको उहाँ बताउनुहुन्छ । विभिन्न गैरसरकारी संस्था अक्सफाम, रुडुक, एमपिडिसले लागु गरेका परियोजनाको सहयोगमा तुलाभाडी बस्तीमा किसानको अगुवाइ गरेर ‘एक घर एक गाई’ पालन गर्ने अवधारणमा महिलालाई व्यावसायिक रूपमा जोडेको उहाँले बताउनुभयो ।
गाईपालन गरे पनि दलितको दुध स्थानीय बजारमा बिक्री नभएपछि गैरसरकारी संस्था मर्सिकोर परियोजना र आलीताल गाउँपालिकाको सहयोगमा दुग्ध टेङ्कर खरिद गर्न समुदायस्तरबाट निकै पहल गरेको उहाँले बताउनुभयो । ट्याङ्कर खरिद भएपछि हाल यस क्षेत्रको दुध, दुग्घ संस्थान कैलाली पुग्ने गरेको छ ।
विकट क्षेत्रमा बाढीपहिरोको जोखिमसँगै बेरोजगारी ठुलो समस्या हो । उहाँले भन्नुभयो, “दलित, गरिब, महिलालाई साह्रै समस्या छ । जातीय विभेद अन्त्य भएको घोषणा सरकारले गरे पनि दुध बिक्री नभएको म आफैँसँग तितो अनुभव छ । कुरीति र दलित वर्गसँगै विपत् व्यवस्थापनका क्षेत्रमा काम गर्ने दृढता मसँग छ ।” २०७० सालमा सामुदायिक सूचना केन्द्रमार्फत महिलालाई प्रौढ शिक्षा पढाएको अनुभव पनि उहाँसँग छ । उहाँ महिला, दलित, गरिब वर्गको अवस्था परिवर्तन हुने गरेर नीति बनाउने, योजना कार्यान्वयनका पक्षमा डटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ ।
उहाँ सदनमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दृढता व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “भ्रष्टाचार नियन्त्रण, सुशासन कायमलगायतका सवालमा सरकारलाई सघाउने र आवश्यक नीति, योजनाबारे सशक्त आवाज उठाउने छु ।”
किसान र खास गरेर ग्रामीण भेगका महिलाले पसिनाको मूल्य पाउन नसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सामान्य प्रशोधित पिउने पानीको मूल्य एक लिटरको ३० रुपियाँ पुगिसक्यो । हाम्रो गाउँबस्तीका किसानले रातदिन मेहनत गरेर पसिना बगाई उत्पादन गर्ने दुधको मूल्य पनि त्यति नै छ तर उपभोक्ताले महँगो मूल्य तिर्नु परेको छ ।”
बिचौलियाको हालिमुहाली रोक्न सरकारले आवश्यक नीति ल्याउन आवश्यक छ । कृषि, पशुजन्य उत्पादनको मूल्य निर्धारण र किसानले उत्पादनको उचित मूल्य पाउने गरी आवश्यक काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।