राजन राजत
हुम्ला, चैत १९ गते। झ्याल, भनसुन र पहुँचका आधारमा आउने योजनामा बन्देज लगाउन सरोकारवालाले आग्रह गरेका छन्। कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो विषय उठाइएको हो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले कर्णाली प्रदेशमा झ्याल, भनसुन र पहुँचका आधारमा आएका योजनाले प्राथमिकता पाउने गुनासो निरन्तर आइरहेको बताउनुभयो। अब त्यस्ता योजनालाई स्थान नदिन उहाँले आग्रह गर्नुभयो।
उहाँका अनुसार आवश्यकतामा आधारित योजना दिगो र लाभदायी हुने भएकाले त्यस्ता योजनालाई प्राथमिकता दिनुपर्छ।
यसअघि कर्णाली प्रदेशमा योजना खरिद–बिक्री हुने गरेको गुनासोसमेत आउने गरेको उल्लेख गर्दै उहाँले अबउप्रान्त बस्तीस्तरबाट आउने योजनाले प्राथमिकता पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले सुशासन र पारदर्शिताका लागि आयोजना बैंकको व्यवस्था उपयुक्त रहेको बताउनुभयो।
आयोजना बैंक निर्माण गरेर मात्रै नपुग्ने उल्लेख गर्दै उहाँले यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। आयोजना बैंकमा योजना प्रविष्ट गराउने प्रणालीलाई सरल र सहज बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले पहुँचका आधारमा आउने योजना प्रायः व्यक्तिकेन्द्रित हुने भएकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो।
कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले एकद्वार प्रणालीमार्फत योजना तर्जुमा गर्न यो अवधारणा अघि बढाइएको बताउनुभयो। अब एउटै प्रक्रियाबाट योजना छनोट र कार्यान्वयन गर्न सहज हुने उहाँको भनाइ छ।
एकपटक आयोजना बैंकमा छनोट भएको योजना पाँच वर्षसम्म कार्यान्वयनमा आउने भएकाले यसको विशेष महत्त्व रहेको उहाँले बताउनुभयो।
कर्णाली प्रदेशमा यसअघि योजना छनोटमा धेरै गुनासा आउने गरेको भन्दै अब सरकार यही अवधारणाअनुसार अघि बढेको उहाँको भनाइ छ।
बस्तीस्तरबाट आएका मागलाई जिल्ला स्तरीय समितिबाट निर्णय गरी प्रदेश आयोजना बैंकका लागि योजना सिफारिस गरिने भएकाले अब धेरै विकृति र विसंगति हट्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
जिल्लास्थित प्रदेश मातहतका कार्यालयलाई आयोजना बैंक व्यवस्थापन प्रणालीबारे जानकारी गराउने तथा योजना प्रविष्टि प्रक्रियाबारे सहजीकरण गराइने जनाइएको छ।