दोलखा समाचारदाता
दोलखा, मङ्सिर २२ गते । दोलखाको कालिञ्चोक गाउँपालिका–८ को हाम्रो साना किसान कृषि सहकारी संस्थाले बाँझो जमिनलाई उपयोग गर्ने ८० जना किसानलाई सहयोग तथा सुविधा उपलब्ध गराउन लागेको छ ।
वडा कार्यालय, सहकारी र किसानको संयुक्त लगानीमा सय रोपनी बाँझो रहेको जग्गामा आलु खेती गर्न ८० जना किसानलाई सहयोग तथा सुविधा उपलब्ध गराउन लागेको संस्थाका अध्यक्ष होम पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार अपनत्व बोध गराउन प्रतिकिसानबाट पाँच÷पाँच हजार, वडाले एक लाख रुपियाँ लगानी गर्न लागेको छ । नपुग संस्थाले लगानी गर्ने सहमति भएको छ । यो खेतीमा पालिकाको कृषि प्राविधिक र निगाले आलु विकास फार्मको विशेषज्ञले निगरानी राख्ने छ । खेतमा दुई पटक आलु खेती गरी किसानलाई आयआर्जनमा तल्लीन गराउने लक्ष्य रहेको छ । बाँझो जमिनको खोजतलास गरी व्रmमशः उपयोग गराउने कामलाई निरन्तरता दिइने भएको छ ।
बाँझो जमिनलाई उपयोग गराउन यसअघि ७२ जना किसानलाई संस्थाको समन्वयमा ग्रिन इन्टेलिजेन्स कम्पनीले १२ हजार विभिन्न जातका बिरुवा निःशुल्क उपलब्ध गराएको छ । रोपेर त्यसको संरक्षण गरेबापत प्रतिबिरुवा ५० रुपियाँ दिएर बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने वातावरण बनिरहेको छ । किसानले बिरुवा रोपेपछि आफ्नो मोबाइलबाट जिआई एप्लिकेसनमा रोपेको बिरुवाको फोटो खिची पठाएपछि सुरुमा प्रतिबिरुवा १० रुपियाँ पाएका छन् । बिरुवालाई मलजल गर्दै उत्पादन दिने समयसम्म व्रmमशः चार पटक फोटो खिचेर पठाएपछि थप प्रतिबिरुवा ४० रुपियाँ पाउने छन् ।
किसानले बिरुवा रोपेबापतको अनुगमनसमेतका आधारमा जम्मा अवधिमा प्रतिबिरुवा ५० रुपियाँ पाउने छन् । किसानले खाल्टो खन्ने, माटो तयार पार्नेलगायतका काम आफैँले गर्नुपर्ने छ । कम्पनीले ज्ञान, सिप र प्रविधिबारे तालिमसमेत प्रदान गर्ने छ । वडा नं. ७, ८ र ९ का किसानलाई करिब ४० लाख बिरुवा वितरण गरिएको छ । साढे दुई सय रोपनीमा बिरुवा रोपिएको छ । यसरी सानै भए पनि सुविधा पाउन थालेपछि किसानले बाँझो जमिन खनजोत गरी हराभरा बनाएका छन् ।
बाँझो रहेको जग्गामा किसानले कागती, मेकाडेमिया नट, एभोकाडो, टिमुर, तेजपत्ता र कफी लगाएका छन् । एक जनाले एक वा दुई जातका बिरुवा लगाउने गरी संस्थासँग सम्झौता गरेका छन् ।