रमेश विश्वकर्मा
गुल्मी, पुस ११ गते । गुल्मीको छत्रकोट गाउँपालिकाले सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । यहि पुस २६ गतेदेखि २८ गतेसम्म छत्रकोट गाउँपालिका-३, भेँडुवास्थित बुडाचौर खेलमैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले जानकारी दिनुभयो ।
शाखा प्रमुख आचार्यका अनुसार सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० को पाँचौँ संशोधन अनुसार चालू शैक्षिक सत्रको पुस २३ गते सम्म १८ वर्ष मुनिका कक्षा १२ सम्म छत्रकोट गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा नियमित अध्ययनरत छात्ररछात्राहरूलाई अनिवार्य सहभागी गराउन आग्रह गरिएको छ । प्रतियोगितामा भाग लिने छात्रछात्रा खेलाडीले पुस २३ गतेभित्र कार्यालयमा नाम दर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतियोगितामा भलिबल छात्रछात्रा, कबड्डी छात्रछात्रा, एथ्लेटिक्स छात्रछात्रा दौड ( ट्राक), उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्वाभलिङ थ्रो, सटपुट लगायतका खेल खेलिने छ । सहभागी विद्यार्थीको उमेरको विषयमा कुनै विवाद भएमा कक्षा-८ को प्रमाणपत्र वा जन्मदर्तामा उल्लेखित जन्म मितिलाई आधार मानिने शाखा प्रमुख आचार्यले बताउनुभयो ।
एथ्लेटिक्स प्रतियोगितामा प्रत्येक विद्यालयले रिले खेलका हकमा महिला तथा पुरुष रिलेको प्रत्येक इभेन्टमा १ र १ समुह मात्र र अन्य प्रत्येक इभेन्टमा बढीमा छात्रछात्रा गरी १र१ जना खेलाडीहरूलाई सहभागी गराउन सकिनेछ ।
प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाकमा भाग लिन पाउनेछन् । प्रत्येक विद्यालयले भलिबल र कबड्डी खेलतर्फ बढीमा ९-९ जनासम्म खेलाडी छात्रछात्राहरू सहभागी गराउन सक्ने उहाँले बताउनुभयो ।