• २८ असार २०८२, शनिबार

दुई सय अठासी हेक्टर वनक्षेत्र अतिक्रमण

blog

वनक्षेत्रमा रहेको ओराली बजार । तस्बिर : ज्योति पन्थी

बबई समाचारदाता

बबई (बर्दिया), असार २८ गते । बर्दिया जिल्लामा मात्र हालसम्म २८८.७५ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ । अतिक्रमित सबै जमिन सामुदायिक वनक्षेत्रको रहेको छ । सङ्घीयतापछि सामुदायिक वनक्षेत्रमा स्थानीय तहको अतिक्रमणसमेत बढ्दै गएको पाइएको छ ।

बर्दिया जिल्लामा रहेका चार वटा सबडिभिजन वन कार्यालयमध्ये सबैभन्दा बढी बबई सबडिभिजन कार्यालय अन्तर्गतको क्षेत्रमा अतिक्रमण भएको छ । डिभिजन वनको तथ्याङ्क हेर्ने हो भने बबई सबडिभिजन वन कार्यालय अन्तर्गत पर्ने सामुदायिक वनमा १७३.५० हेक्टर जमिन अतिक्रमण भएको छ । 

त्यसै गरी खाता सबडिभिजन वन कार्यालय अन्तर्गतको सामुदायिक वनमा ३०.७५ हेक्टर, बाँसगढी सबडिभिजन वन कार्यालय अन्तर्गतको सामुदायिक वनमा ४७ हेक्टर र राजापुर सबडिभिजन वन कार्यालय अन्तर्गतको सामुदायिक वनमा ३७.५० हेक्टर सामुदायिक वनक्षेत्र अतिक्रमण भएको छ । 

२०७४ को स्थानीय तहको निर्वाचनपछि पनि वन अतिक्रमण हुने क्रम रोकिएको छैन भने बर्दियाका कतिपय स्थानीय तह अन्तर्गतका कार्यालय नै वनक्षेत्रभित्र निर्माण गरिएको छ ।

वनक्षेत्रभित्र ठुला ठुला घर निर्माण भएका छन् भने कतिपय स्थानमा बजार नै वनक्षेत्रभित्र विस्तार भएको छ । डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले पहिला पहिला साना साना घर निर्माण गर्ने र पछि पक्की घर निर्माण गर्ने क्रम बढेको बताउनुभयो । वडा नं. ३ का वडाध्यक्ष नारायण मल्लले बर्दिया जिल्लाका धेरै जसो अतिक्रमित स्थान विभिन्न बजार क्षेत्र अन्तर्गत रहेका र मधुवन नगरपालिका–२ अन्तर्गत पर्ने ओराली बजार पनि वनक्षेत्रमै निर्माण भएको बताउनुभयो । 

डिभिजन वन कार्यालय बर्दियाले अतिक्रमित क्षेत्र खाली गराउन पहल गरेको बताए पनि त्यस्तो कुनै काम गरेको देखिँदैन । अतिक्रमित वनक्षेत्र खाली गराउन प्रयाससमेत भएको छैन । सामुदायिक वन उपभोक्ता महासङ्घका सदस्य मोहम्मद कर खाँले डिभिजन वन कार्यालय पछिल्लो समय वैज्ञानिक वन भनेर रुखहरू काट्ने काममा मात्र लागेको बताउनुभयो ।