• २८ असार २०८२, शनिबार

पानी नपरेपछि भूमिगत पानीबाट रोपाइँ गरिँदै

blog

भूमिगत पानी तानेर रोपाइँ गर्दै किसान । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल
गाईघाट, असार २८ गते ।
देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि उदयपुरमा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ । आकासे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानहरु असार सकिँनै लाग्दा पनि खडेरीका कारण धान रोप्न नपाएपछि उनिहरु चिन्तित बनेका हुन् । देशका अधिकांश स्थानमा निरन्तर वर्षा भएपनि उदयपुरमा भने अहिलेसम्म पानी परेको छैन ।

कृषि ज्ञान केन्द्र उदयपुरका कार्यालय प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार अगौटे धानको रोपाइँ चाहिँ पूर्णरुपमा प्रभावित भएको छ । उदयपुरको १३ हजार तीन सय ८० हेक्टर क्षेत्रफलमा धानको रोपाइँ हुने गर्दछ । विगतका वर्षहरुमा असार मसान्तसम्म झन्डै ६० प्रतिशत रोपाइँ सम्पन्न हुने गरेको उदयपुरमा यस वर्ष भने जम्मा ३१.६ प्रतिशत मात्र रोपाइँ भएको ज्ञानकेन्द्र प्रमुख यादवले बताउनुभयो  ।

धानको बिउ उम्रिएको २० देखि २५ दिन भित्र रोपी सक्नुपर्छ । तर अवस्था प्रतिकूल बन्दै गएकाले कतिपय किसानहरुले उत्पादन गरेको बिउ ४० दिन नाघिसकेको हुँदा त्यसको असरले उत्पादनमा ह्रास आउने देखिएको छ । उदयपुरमा प्रति हेक्टर ३.६ मेट्रिक टन धान उत्पादन हुने तथ्याङ्क छ । तर अन्य वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा कमि आउने भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख यादवले उदयपुरमा मन्सुली, रन्जित, सोबर्णा सव, राम धान, सुख्खा सिरिज, साबित्री, बासमति, चनमचुर र चैते जातका धानको खेती हुँदै आएको बताउनुभयो ।

अघिल्लो वर्ष ४८ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उत्पादकत्व घट्ने निश्चित छ । असार महिना रोपाइँका लागि उपयुक्त समय भए पनि सिँचाइ सुविधा नहुँदा कृषकहरु धुलो माटोमा खेत जोत्न बाध्य भएका छन् । जिल्लाको रामपुर, हडिया, बसाहा, तपेश्वरी, जोगिदह, कटारी र त्रियुगा क्षेत्रका अन्न भण्डार मानिने पटाङ्गिनी खेतको फा“ट यसवर्ष हालसम्म बाझै रहेको चौदण्डिगढी नगरपालिका ९ ज्यामिरेका किसान जोखन चौधरीले बताउनुभयो ।

नेपाल सरकारले यस अघिनै “धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने” नारा तय गरेको थियो । जसअनुसार किसानहरुलाई अनुदान, कृषि यान्त्रिकरण, सहुलियत ऋण, बिमा र बजारीकरण तथा सिँचाइको उचित प्रबन्ध गरे मात्रै सरकारी नाराले साकार रुप लिने किसानहरु बताउँछन् ।

जिल्लाका कतिपय किसानहरुले ऋण नै काढेर भए पनि बोरिङ्ग गाढेर पम्पिसेटबाट भूमिगत पानीको प्रयोग गरी धना रोपाइँ गर्ने गरेको उदयपुर सुन्दरपुरका किसान धनपति आचार्यले बताउनुभयो । असार साउनमा खेत बाँझै रहे आउँदो वर्ष अनिकालले सताउने निश्चित भएकाले धेरै खर्च लागेपनि पम्पिसेटबाट पानी तानेर रोपाइँ गर्न बाध्य भएको उहाँले बताउनुभयो ।