• १२ पुस २०८१, शुक्रबार

सीबीआर परियोजना स्थानीय तहलाई हस्तान्तरण

blog

शेरबहादुर राई

ओखलढुङ्गा, पुस ११ गते । जिल्लाको दुई वटा स्थानीय तहमा सञ्चालित समुदायमा आधारित पुनःस्थापना (सीबीआर) परियोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । मोलुङ र खिजिदेम्बा गाउँपालिकामा विगत पाँच वर्षदेखि ओखलढुङ्गा सामुदायिक अस्पतालमार्फत् सञ्चालित परियोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको हो । 

समावेशी समाज निर्माणका लागि अपाङ्गता भएका व्यक्ति साथै उनिहरूका परिवारलाई लक्षित गरेर शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिकिरण र सशक्तिकरणको क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो । परियोजनाले विशेष गरि अपाङ्गता समावेशी समाज निर्माणमा जोड दिएको थियो । 

अपाङ्गताको क्षेत्रमा सीबीआरले सुरु गरेको कामलाई गाउँपालिकाले निरन्तरता दिने मोलुङ गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताउनुभयो । निति निर्माण गरेरै अपाङ्गता भएकालाई बिमा लगायतका कार्यक्रमको थालनी गरिएको अध्यक्ष राईको भनाइ छ । 

सीबीआरले थालनी गरेको कामलाई सरकारले अपनत्व लिने खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । परियोजनाले आँखा देखाउने काम गरेको छ, यसको निरन्तरता गाउँपालिकाले दिने अध्यक्ष शेर्पाको भनाइ छ । अपाङ्गता भएका व्यक्ति तथा उनिहरूका परिवारलाई लक्षित गरेर सञ्चालन भएको परियोजनाको अनुगमन साथै सामाजिक लेखा परिक्षण गरेर स्थानीय तहलाई हस्तान्तरण गरिएको ओखलढुङ्गा सामुदायिक अस्पतालका निर्देशक डा. रोशन खरेलले जानकारी दिनुभयो । 

आगामी पाँच वर्षसम्म ओखलढुङ्गा सामुदायिक अस्पताल मार्फत सिद्धिचरण नगरपालिका र चिशङ्खुगढी गाउँपालिकामा (सीबीआर) परियोजना सञ्चालन हुने कार्यक्रम संयोजक तुलाराम कार्कीले बताउनुभयो । परियोजना हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधीहरू, अपाङ्गता समूह तथा सञ्जालका प्रतिनिधी, अपाङ्गता भएका व्यक्ति साथै उनीहरूका परिवारका सदस्यहरू सहभागी हुनुभएको थियो ।