• १२ पुस २०८१, शुक्रबार

मन्त्रालयका सेवा सबै प्रदेशमा विस्तार गर्दैछौं : मन्त्री पाण्डे

blog

लुम्बिनी क्षेत्र विकास कोष, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याको समाधान विषयमा बोल्नुहुँदै । तस्बिर : मन्त्री पाण्डेको सचिवालय

काठमाडौं, पुस ११ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयका सेवाहरू सातवटै प्रदेशमा विस्तार गर्दै सङ्घीयता सवलीकरणमा लागिरहेको बताउनुभएको छ ।

बिहीबार सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिद्वारा आयोजित लुम्बिनी क्षेत्र विकास कोष, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सगरमाथा क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्याहरूको समाधान विषयमा बोल्नुहुँदै मन्त्री पाण्डेले उक्त कुरा बताउनुभएको हो ।

उहाँले मन्त्रालय मातहतका निकाय सातवटै प्रदेशमा विस्तार गर्दै सेवा प्रभावकारी बनाउन गृहकार्य गरिहेको बताउनुभएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो, ‘‘विषयगत समितिलाई क्रियाशील बनायौं भने सङ्घीयता प्रभावकारी हुने हो । हाम्रो मन्त्रालयअन्तर्गत रहेको विषयगत समितिको दोस्रो बैठक सम्पन्न भएको छ । त्यसमा गाउँपालिका र नगरपालिका महासङ्घका प्रमुखहरूलाई समेतको प्रतिनिधित्व गराएका छौं ।’’

मन्त्री पाण्डेले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि प्रदेश र स्थानीय तहलाई समेत क्रियाशील बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन सातवटै प्रदेश र स्थानीय तहलाई क्रियाशील बनाउनुपर्छ । आर्थिक र व्यवस्थापकीय रूपमा सवल र सक्षम बनाउन जरुरी छ । नेपाल पर्यटन बोर्ड, नाथम लगायतका संस्थालाई सातवटै प्रदेशमा विस्तार गरी सघीयता सवलीकरणका लागि लागिरहेका छौं ।’’

उहाँले विश्व सम्पदामा सूचीकृत लुम्बिनी क्षेत्रलाई युनेस्काले जोखिमको सूचीमा सूचीकृत गरेको स्मरण गर्नुहुँदै भारतको राजधानी दिल्लीमा सम्पन्न भएको युनेस्कको बैठकबाट एक वर्षको म्याद पाई जोखिमबाट हटाउने गरी गृहकार्य भइरहेको र छ महिनाभित्र खतराको सूचीबाट हटाउने गरी काम भइरहेको समेत उल्लेख गर्नुभयो । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने काम अन्तिम चरणमा पुगेको समेत बताउनुभयो ।

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावहाक एयरक्राप्टमा समस्या रहेको बताउनुहुँदै नेपाल एयरलाइन्सका केही विमान उड्न नसक्ने अवस्थामा पुगेकाले विमानको खरिद प्रक्रियाबारे छलफल भइरहेको समेत बताउनुभयो ।