शान्ता अधिकारी
चितवन, असार १५ गते । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा मनाइँदै आएको १५ असार अर्थात् आइतबार परेको २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ चितवनका विभिन्न ठाउँमा धान रोपाइँ गरेर उत्सवको रूपमा मनाइरहेका छन् ।
भरतपुर महानगरपालिका कृषि तथा पशुुपक्षी व्यवसाय प्रवर्धन शाखा, कृषि विकास कार्यालय भरतपुर, केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारीको संयुक्त आयोजनामा भरतपुर २४ मा धान रोपाइँ गरेर मनाइएको छ । उक्त कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले धान रोपेर औपचारिक उत्सवको उद्घाटन गर्नुभएको छ । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारी, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेललगायतले रोपाइँ महोत्सवमा सहभागी हुनुहुन्छ ।
त्यसैगरी माडी नगरपालिका र खाद्यान्नका लागि कृषि अभियान माडीको आयोजनामा माडी-३ मा धान रोपाइँ उत्सव मनाइएको छ । खेतीपातीबारे चासो बढाउने र विविध कृषि संस्कृति र कृषि पेशाको सम्मानका लागि उक्त कार्यक्रम आयोजना गरिएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनुभयो । उक्त रोपाइँ उत्सवमा माडी नगर प्रमुख ताराकुमारी काजी महतोले धान रोप्नुभएको थियो ।
भरतपुर-९ मा त्रिपुरेश्वर कृषि सहकारी संस्थाको आयोजनामा धान रोपाइँ गरी २२ औं धान दिवस एवं रोपाइँ महोत्सव मनाइएको छ । कृषि पर्यटनको विकाससँगै जैविक विविधताको संरक्षण गर्ने उद्देश्यका साथ उक्त महोत्सव आयोजना गरिएको संस्थाका वेदप्रसाद सापकोटाले बताउनुभयो । उक्त संस्थाले ११ वर्ष अगाडिदेखि औपचारिक कार्यक्रम गर्दै आएको छ । सापकोटाका अनुसार रोपाइँ महोत्सवको अवसरमा अन्तर आमा समूह रोपाइँ प्रतियोगिता, खुला महिला हिले दौड प्रतियोगितालगायतका कार्यक्रम बाजागाजा र झाँकीसहित आयोजना गरिएको छ ।
भरतपुर २६ दिव्य नगरमा आधुनिक प्रविधि प्रयोग गरि मेसिनबाट धान रोपाइँ गरिएको छ ।
नेपालको प्रमुख खाद्यान्न बाली नेपालीको जीवन पद्धतिमा अभिन्न अङ्ग मात्र रहेको छैन कुल ग्राहस्थ उत्पादनमा २४.१ प्रतिशत कृषिको योगदान रहेकोमा धानको मात्र १५ प्रतिशत योगदान रहेको छ । यो वर्ष मनसुनी वर्षा राम्रो हुने र धानको उत्पादन वृद्धि हुने अनुमान विज्ञहरूको छ ।
यस वर्षकोे २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को नारा ‘धान बालीमा सघनता : खाद्यसुरक्षा र आत्मनिर्भरता’ रहेको छ । आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउने उद्देश्य आगामी २०८२-०८३ को बजेटमा उल्लेख गरिएको छ ।
चितवन जिल्लाको खैरहनी, रत्ननगर र राप्ती नगरपालिकाको केही क्षेत्र समेटेर धान जोन बनाइएको छ । एकिन तथ्याङ्क नभए पनि धान उत्पादनको दृष्टिकोणले चितवन देशका १५ जिल्ला भित्र पर्दछ । यहाँ वार्षिक एक लाख मेट्रिक टनको हाराहारीमा धान उत्पादन हुने गरेको छ ।