• २१ साउन २०८२, बुधबार

विश्व बैंकको सहयोगमा तनहुँका दुई सडककाे स्तरोन्नति धमाधम

blog

तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाको टोली विश्व वैंकको प्रतिनिधिसमक्ष प्रगति प्रतिवेदन सार्वजनिक गर्ने क्रममा । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन २१ गते ।
तनहुँको व्यास र शुक्लागण्डकी नगरपालिकामा नेपाल सरकार सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत दुई सडककाे स्तरोन्नति भइरहेको छ । विश्व बैंकको अनुदान सहयोगमा चालु आर्थिक वर्ष २०८२/८३ मा छ महिना भित्र सम्पन्न हुने गरी तदारुकताका साथ काम भइरहेको हो ।

व्यासमा पराशर मार्ग र शुक्लामा दुलेगौडा–लामागाउँ स्तरोन्नति भइरहेका छन् । अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सम्झौता भई काम भइरहेको छ । उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ भने अन्य ठाउँमा नालासहितको कालोपत्र हुने गर्ने सम्झौतमा उल्लेख छ ।

सदरमुकाम दमौलीमा घनाबस्ती भइसकेकाले नयाँ सहरको रुपमा विकास गर्न र किसानलाई स्थानीय उत्पादनको बजारीकरणका लागि सहज बनाउन स्तरोन्नतिको काम अघि बढेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण यसअघि खुलेका ती ट्रयाकमा स्तरोन्नतिको काम भइरहेको न्यौपानेले बताउनुभयो । सहरीकरण बढ्दै जाने क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको नगरप्रमुख न्यौपानेले बताउनुभयो ।

निर्धारित पुस महिनासम्ममा काम पूरा गर्न गति बढाउन नगरपालिकाले सम्बन्धित निर्माण व्यावसायीलाई निर्देशन दिएको छ । निर्देशन दिएपछि हाल धमाधम भइरहेको नगरपालिकाले जनाएको छ । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक जोडिने उक्त खण्डमा १० दशमलव ५५ किलोमिटर दूरी कालोपत्र हुनेछ ।

उक्त सडक स्तरोन्नतिका लागि गत वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । विसं २०८२ असारसम्म सम्पन्न गर्ने गरी काम अघि बढाइएकोमा काम पूरा नभएपछि छ महिना म्याद थप भएको भएको व्यास नगरपालिकाका सिनियर डिभिजन इन्जिनियर डा. राजु पौडेलले जानकारी दिनुभयो । हालसम्म १८.२९ प्रतिशत काम भएको पौडेलले बताउनुभयो ।

पिएको समयमा पूरा गर्ने गरी काम गर्न निर्देशन दिइएको पौडेलले जानकारी दिनुभयो । सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार नौ सय २१ मा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि गत विसं २०८० पुस २६ गते  ५२ करोड ७८ लाख ३० हजार चार सय २७ को ठेक्का आह्वान भएको थियो । त्यसमध्ये नौ वटा फर्मले बोलपत्र दर्ता गराएकामा २३ दशमलव ४१ प्रतिशत घटी बोलपत्र दर्ता गराउने फर्मको बोलपत्र स्वीकृत भएको थियो ।

दुलेगौंडा–लामागाउँ सडक खण्डमा ४५ प्रतिशत भौतिक प्रगति भएको ६१ दिनमा काम पूरा गर्ने प्रतिबद्धता ठेकेदारले गरेको शुक्लागण्डकी नगरपालिकाका प्रमुख नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । म्याद थपिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गराउन पालिकाले निरन्तर अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो । यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले वि.सं. २०८० चैत २५ गते सम्झौता गरेको थियो ।

मोटरमार्ग सात दशमलव एक किलोमिटर दूरी कालोपत्र गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले जानकारी दिनुभयो । लामादेका अनुसार उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४ छ ।  शुक्लागण्डकी–४ दुलेगौंडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी–८, ९ र १२ वडालाई जोड्छ । दुलेगौंडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । पाँच दशमलव पाँच मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक–एक मिटरको नाला निर्माण हुनेछ ।

शुक्लागण्डकी–४ दुलेगौंडाबाट शुक्लागण्डकी–१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएकोमा अब समाधान हुने इञ्जिनियर तारापति भट्टराईले जानकारी दिनुभयो । सहरी विकास मन्त्रालयले कार्यक्रम सञ्चालन भएका पालिका र सहयोगी निकायबीच मङ्गलबार र बुधबार गरी दुई दिन काठमाडौँमा भेला गरी हालसम्मको प्रगती र भावी योजनाको बारेमा जानकारी गराएको छ । कार्यक्रमको मङ्गलबार कार्यबाहक प्रधानमन्त्री सो कार्यक्रममा तनहुँका दुवै पालिकाले ठेकेदारले काममा ढिलाई गर्दा समस्या परेको अवगत गराउनुभएको थियो । बारम्बार अनुगमन गरेर छिटो काम पुरा गर्न भनेपछि हाल कामदार थपेको व्यास नगर प्रमुख न्यौपानेले बताउनुभयो ।