• २१ साउन २०८२, बुधबार

हेवा खोलामा तेस्रो पटक बेलिब्रिज जाेडिँदै

blog

मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गत हेंवा खोलामा बेलिब्रिज ब्रिज जडान गरिँदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, साउन २१ गते । पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याएर बग्ने हेवा खोलामा तेस्रो पटक बेलिब्रिज जोड्न थालिएको छ । यो खोला मेची राजमार्गमा पर्छ । जसले पाँचथर र ताप्लेजुङलाई सडक सञ्जालबाट इलाम र झापालाई जोड्ने भएकाले पुल नहुँदा यातायात प्रभावित हुँदै आएको छ।

यहाँ जडान भइरहेको बेलिब्रिजलाई सडक डिभिजन इलामले मोडुलर ब्रिज भनेको छ । ब्रिज जडानको काम सडक डिभिजन इलामले गरिरहेको हो । यसअघि यहाँ जडान भइरहेको बेलिब्रिज काम नसकिँदै गत जेठ ३१ गते भाँचिएको थियो ।

त्यसपछि भारतबाट सामग्री र प्राविधिक ल्याएर पुनः जडान गर्न थालिएको हो । यसपटक भारतबाट लन्चिङ किट्ससहित आएका भारतीय प्राविधिकहरुको निगरानीमा पुल जडान अघि बढाइएको सडक डिभिजन इलामका इन्जिनियर लक्ष्मण बरालले जानकारी दिनुभयो ।

पुल जडान गर्न २१ जना भारतिय प्राविधिक सँगै सडक डिभिजन इलामका ३० जना इञ्जिनियर खटेका छन् । ब्रिजको लम्बाइ ७० मिटर छ । साउन १७ गतेदेखि सुरु भएको ब्रिजको जडान कार्य सक्न कम्तीमा १५ दिन लाग्ने अनुमान छ । जसलाई हालसम्म नेपालमा जडान भएमध्ये सबैभन्दा लामो र उच्चतम प्रविधिको भनिएको छ ।

पुलका सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको सडक डिभिजन इलामले जनाएको छ । यसअघि जडानको अन्तिम चरणम जेठ ३१ गते यहाँको बेलिब्रिज भाँचिदा ३ श्रमिकले ज्यान गुमाएका थिए ।

यसपटक जडान गरिँदै आएको पुललाई सडक डिभिजन इलामले मोडुलर प्रविधिको ब्रिज भनेको छ । जसको जडानका लागि दोभान सुपर सौगात लाइट बिल्डर्सले ब्रिज बनाउन ३ करोड ५० लाखमा ठेक्का लिएको छ ।

हेवा खोलाको पक्की पुल २०८० साल असार–२ बाढीले बगाएको थियो । त्यसपछि सङ्घीय सरकारले २९ दिन लगाएर बेलिब्रिज बनाएकोमा सो पनि २०८१ असोज १२ गते बाढीले बगाएपछि दोस्रो पटक जोडिदै गरेको बेलिब्रिज गत जेठ ३१ गते जडानकै क्रममा भाँचिएपछि यहाँ तेस्रो पटक जडान गर्नुपरेको हो ।

बाढीले पुल बगाएपछि हेंवा खोला क्षेत्रको यातायात अस्तव्यस्त छ । पानी नपर्दा डाइभर्सनबाट गाडी आउजाउ गरे पनि बाढी आउनासाथ अवरुद्व हुँदा यात्रुले कष्ट व्यहोर्नुपरेको छ ।