हरिप्रसाद कोइराला
उर्लाबारी, पुस ११ गते । हाम्रा परम्परागत ज्ञान र सिपको सदुपयोग गर्न सके त्यसले जीविकोपार्जन मात्र होइन व्यवसायकै रूप दिन्छ भन्ने उदाहरण मोरङको उर्लाबारी–६ का एक युवाको कार्य बनेको छ ।
सो ठाउँका बासिन्दा ४४ वर्षीय सूर्यविक्रम याक्खाले विदेशमा कमाएको पुँजीलाई त्यसमा सदुपयोग गर्नुभएको हो तर कता कता फेरि विदेश जाने सोच पनि उहाँमा नपलाएको होइन तर पुर्खाले दिएको ज्ञान र सिपले उहाँलाई त्यता लाग्न दिएन । अहिले उहाँ होइन उहाँको उत्पादन विदेश जान्छ, त्यो पनि मर्चा ।
याक्खाले आफ्ना पुर्खाले सिकाएको सिपलाई व्यवसायमा परिणत गरेर मनग्गे आम्दानी गरिरहनुभएको छ । २०६६ सालदेखि घरेलु मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ मर्चाको उत्पादन र बेच्दै आएका याक्खाले २०७४ मा व्यावसायिक उत्पादनका लागि इजाजतपत्र लिनुभयो । यो कानुनीपत्र प्राप्त नगर्दासम्म उहाँले धेरै दुःख खेप्नु परेको थियो ।
परम्परागत रूपमा आफ्ना पुर्खाले सिकाएको सिपलाई प्रयोग गरेर आर्थिक उपार्जनमा लाग्नुभएका याक्खाले २०७४ सालमा ठुली माइली मर्चा उद्योग दर्ता गर्नुभयो । धेरै कमाउने सपना बोकेर १० वर्ष साउदी अरब र चार वर्ष कतारमा पसिना बगाउनुभएका याक्खा स्वदेश फर्केपछि मर्चा उद्योगलाई व्यवस्थित बनाउन लाग्नुभयो । घरेलु मदिरा (रक्सी, तोङ्बा र जाँड) बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चाको व्यावसायिक उत्पादन थालेपछि याक्खाको फेरि विदेश जाने सोच बदलियो ।
उर्लाबारी–६, आत्मानन्द टोलमा उहाँको उद्योग छ । नियमित पाँच जना र माग बढेका बेला १५ कामदारलाई रोजगार दिएर याक्खाले उद्योग चलाइरहनुभएको छ । याक्खाको उत्पादन हाल नेपालमा मात्र नभई चीनको तिब्बत, बर्मा, भुटान र भारतको सिक्किम, दार्जिलिङ, असमसम्म जाने गरेको छ तर उहाँ आफैँ विदेश पठाउनु हुन्न । एजेन्टले लान्छन् र विदेश पठाउँछन् ।
दैनिक सात बोरा कनिकाको पिठोमा जङ्गली जडीबुटी मिश्रण गरेर बनाइने मर्चा नेपाली भूगोलको विशुद्ध उत्पादन हो । जहाँ नेपाली छन् त्यहाँ मर्चाको माग हुन्छ । पछिल्लो समय तिब्बतमा समेत मर्चाको माग हुने गरेको सूर्यविक्रमले सुनाउनुभयो ।
हाल वार्षिक करिब एक करोड रुपियाँको मर्चा उत्पादन गरिरहनुभएका याक्खाले भन्नुभयो, “सबै खर्च कटाउँदा १५/२० लाख रुपियाँ बचत हुन्छ । राम्रो बचत हुन थालेपछि याक्खाले विदेश जाने सोच बदलेको सुनाउनुभयो ।
भाडामा जग्गा लिएर उद्योग सञ्चालन गरिरहनुभएका सूर्यविक्रमले हालसम्म उद्योगमा आठ लाख रुपियाँ लगानी गरिसक्नुभएको छ । मर्चा बनाउने आधुनिक उद्योग छैनन् । विगतमा पिठो ढिकी तथा जाँतोमा पिस्नु पथ्र्यो, अहिले मिल आफैँ राखेको छु । अरू विधि सबै परम्परागत छन् । पिठोमा जडीबुटी मिसेर बाबर जस्तो बनाउँदै पातमाथि राखेर सुकाउनु पर्छ तर एकरातसम्म गुन्द्री, गजरामा खातमाथि खात गर्दै राख्नु पर्छ । त्यसमाथि सिरक वा ब्ल्याङ्केटले छोप्नु पर्छ । त्यसपछि बास्नादार मर्चा तयार हुन्छ ।