• २६ असार २०८२, बिहिबार

प्रविधि भित्रिएसँगै विकासको काम सहज

blog

हिल्सा सिमकोट सडक योजनाको नाम्खा गाउँपालिका– ४ को याल्वाङको भालुखोलामा मेशिनबाट सिमेन्ट घोल्ने कार्य हुँदै । तस्बिर : राजन रावत

राजन रावत 
हुम्ला, असार २६ गते ।
जिल्लामा नयाँ प्रविधि भित्रिएसँग विकासको काम गर्न सहज भएको छ। सिमेन्टको काम गर्नका लागि नयाँ प्रविधि भित्रिदा काम सहज र छिटो हुने गरेको छ ।

यसअघि कामदारले हातैले गर्नु पर्ने सिमेन्ट घोल्ने कार्य हाल प्रविधि विकास निर्माण स्थलमा पुग्दा काम पनि मेशिनबाट हुन थालेपछि सहज भएको हो ।

गत वर्षसम्म सिमेन्ट घोल्ने काम बेल्छाबाट हुँदै आएकोमा यस वर्षबाट कङ्क्रीट मिक्स्चर मेशिन निर्माण स्थलमा पुगेपछि विकास निर्माण विशेष गरी सिमेन्ट, बालुवा र गिट्टी घोल्ने कार्य सहज भएको पानस निर्माण सेवाका व्यवस्थापक सरोज रावतले बताउनुभयो ।

उहाँले यसवर्ष आफुहरुले चार स्थानमा सडक निर्माण गर्ने क्रममा ढलान, प्लम्प वाल निर्माण गर्न र नाला बनाउने क्रममा सबै कङ्क्रीट मिक्सचर मेशिनबाट गरिएको बताउनुभयो । यसरी मेशिनबाट मसला राम्रोसँग घोलिने भएका कारण यो दिगो र टिकाउ पनि हुने उहाँको भनाइ छ ।

त्यसैगरी कर्णाली करिडोरको सिमकोट हिल्सा खण्डको च्याछरादेखि सल्ली खोलासम्मको सडकको स्तरोन्नती तथा ग्राभेल गर्ने कार्य गरिरहेको निर्माण कम्पनीका स्थानीय प्रतिनिधि हरि बोगटीले सडक सञ्जाल जोडिँदै जानु र मेशिन भित्रिदा काम गर्न निक्कै सहज भएको बताउनभयो ।

उहाँले उक्त खण्डको सडक निर्माण गर्ने क्रममा नाला, प्लम्प वाल र ढलान गर्ने कार्यका लागि तीन स्थानमा मेशिन प्रयोग गरेर मसला घोल्ने कार्य गराउदै आएको बताउनुभयो ।

सडक सञ्जाल जोडिएसँगै कङ्क्रीट मिक्स्चर मेशिन हिमाली क्षेत्रको विकास निर्माण कार्यमा प्रयोग हुन थालेको जुन गर्ने पर्ने कार्य भएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । आफ्नो कार्यलयअन्र्तगत जति पनि जिल्लाभर सिमेन्टबाट निर्माण कार्य भई रहेका छन् त्यसमा यो प्रविधिबाट काम भइरहेको उहाँले बताउनुभयो । विद्युतको व्यवस्था सबै स्थानमा नभएका कारण जेनेरेटेटरबाट मेशिन सञ्चालन गर्नुपर्ने भएका कारण थप आर्थिक भार भने पर्ने गरेको छ ।