• २६ असार २०८२, बिहिबार

पदाधिकारी सुविधा खर्च शतप्रतिशत

blog

 बेलौरी समाचारदाता

कञ्चनपुर, असार २६ गते । कञ्चनपुरका स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ मा पदाधिकारी सुविधाबापत नौ करोड ४९ लाख ३८ हजार रुपियाँ खर्च गरेका छन् । केही पालिकाले आन्तरिक आयको शतप्रतिशतभन्दा बढी रकम पदाधिकारी सेवा सुविधामा खर्चिएका हुन् ।आवश्यकताभन्दा बढी करारमा कर्मचारी राखेर पालिकाहरूले विकासभन्दा पदाधिकारीको सेवा सुविधामै रकम खर्चेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको पदाधिकारी सुविधा खर्च एक करोड ३६ लाख ४९ हजार रुपियाँ नाघेको छ । जुन आन्तरिक आयको १०७.७६ प्रतिशत खर्च हो । सो पालिकाको आन्तरिक आय एक करोड २६ लाख ६६ हजार ३९६ रुपियाँ रहेको छ । सो पालिकाले गत आवमा खाना, खाजा, सभा सञ्चालन तथा अन्य विविध शीर्षकमा ५२ लाख ५४ हजार ६३७ रुपियाँ खर्च गरेको छ । 

स्थानीय कृष्ण विकले पालिकाका पदाधिकारी सेवा सुविधाकेन्द्रित देखिएको गुनासो गर्नुभयो । यस्तै लालझाँडी गाउँपालिकाले गत आवमा ९४.९६ प्रतिशत पदाधिकारी सुविधामा खर्चेको छ । सो पालिकाले आन्तरिक आय ६२ लाख ६० हजार १९० मध्ये पदाधिकारी सुविधामा मात्रै ५९ लाख सात हजार तीन सय रुपियाँ खर्च गरेको छ । सो पालिकाले पदाधिकारी तथा कर्मचारी बैठक भत्तास्वरूप गत आवमा पाँच लाख ५४ हजार पाँच सय रुपियाँ खर्च गरेको छ । बेदकोट नगरपालिकाले गत आवमा आन्तरिक आयको ५९.३५ प्रतिशत खर्च पदाधिकारी सुविधामा गरेको छ । 

गत आवमा बेदकोट नगरपालिकाले एक करोड १५ लाख ८८ हजार रुपियाँ पदाधिकारीको सुविधाबापत खर्च गरेको छ । यस्तै २२ लाख ८५ हजार रुपियाँ पदाधिकारी र कर्मचारीको बैठक भत्तामा खर्च गरेको छ । यस्तै सो पालिकाले अतिथि सत्कारमा गत आवमा छ लाख ७५ हजार ४९९ रुपियाँ खर्च गरेको छ । बेदकोट नगरपालिकाको आन्तरिक आय एक करोड ९५ लाख २५ हजार २९० रुपियाँ रहेको छ । शुक्लाफाँटा नगरपालिकाले गत आवमा एक करोड १० लाख ७७ हजार छ सय रुपियाँ पदाधिकारी सुविधामा खर्च गरेको पाइएको छ । सो पालिकाले आन्तरिक आयको ५४.५५ प्रतिशत खर्च पदाधिकारी सुविधामा मात्रै खर्च गरेको छ । शुक्लाफाँटा नगरपालिकाको आन्तरिक आय दुई करोड तीन लाख नौ हजार ६६ रुपियाँ रहेको छ । 

कञ्चनपुरमा एक मात्र पालिका कृष्णपुर नगरपालिकाले पदाधिकारी सुविधामा आवश्यक मात्रामा खर्च गरेको छ । कृष्णपुरले आन्तरिक आय छ करोड ५३ लाख ९८ हजार ३३८ मध्ये ९१ लाख ६५ हजार रुपियाँ पदाधिकारी सुविधामा खर्च गरेको हो । भीमदत्त नगरपालिकाले पदाधिकारी सुविधामा एक करोड ८० लाख १५ हजार रुपियाँ खर्चेको छ । भीमदत्तको आन्तरिक आय २९ करोड १३ लाख १३ हजार २७९ रुपियाँ रहेको छ । सो पालिकाले पदाधिकारी र कर्मचारीको बैठक भत्तामा १९ लाख ४७ हजार ७९० रुपियाँ खर्च गरेको छ । 

पुनर्वास नगरपालिकाले गत आवमा पदाधिकारी सुविधामा एक करोड २२ लाख चार हजार पाँच सय रुपियाँ खर्च गरेको छ । साथै सो पालिकाले कार्यविधि तथा मापदण्ड नबनाई आठ लाख ५२ हजार ३५४ रुपियाँ कर्मचारीलाई फिल्ड तथा भत्ताबापत प्रोत्साहन भत्ता उपलब्ध गराएको पाइएको हो । सो नगरपालिकाले खाना तथा खाजा शीर्षकमा मात्रै १९ लाख ६३ हजार ४६३ रुपियाँ खर्च गरेको छ । सो पालिकाको आन्तरिक आय तीन करोड ३५ लाख पाँच हजार २६६ रुपियाँ रहेको छ । 

जिल्लाको बेलौरी नगरपालिका गत आवमा आन्तरिक आय दुई करोड १३ लाख २८ हजारमध्ये पदाधिकारी सुविधामा एक करोड २७ लाख ३३ हजार रुपियाँ खर्च गरेको छ । जुन आन्तरिक आयको ६० प्रतिशत खर्च हो । यस्तै बेलडाँडी गाउँपालिकाले गत आवमा ५९ लाख नौ हजार रुपियाँ पदाधिकारी सुविधामा खर्च गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७३ मा प्रमुख प्रशासकीय अधिकृतले स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता र औचित्यसमेत कायम राख्न आवश्यक व्यवस्था मिलाउनु पर्छ । पालिकाले आफ्नो आन्तरिक आयको आकार र कर्मचारी तथा पदाधिकारी सुविधाबिचमा आवश्यक तादात्म्य मिलाएर चालु खर्चलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउनुपर्ने महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर शाकीले पदाधिकारीलाई तलब भत्ता नभए पनि सुविधाबापत मासिक रूपमा केही रकम दिने गरिएको बताउनुभयो । पालिकामा आम्दानीको स्रोत नहुँदा खर्च बढेको उहाँले बताउनुभयो । दोधाराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले भने पदाधिकारी सुविधाबापत भएको खर्चको विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिनुभयो ।