• १२ पुस २०८१, शुक्रबार

सिङ्गो गाउँमै एउटै इनार

blog

तुलसीपुर समाचारदाता

तुलसीपुर, मङ्सिर २२ गते । दाङको राजपुर गाउँपालिका–६, खाङ्ग्रा गाउँबिचमै एउटा इनार छ । सोही इनारको पानी गाउँलेले प्रयोग गर्दै आएका छन् । प्रत्येक वर्ष गर्मीयाममा भने इनार सुक्ने गर्छ । इनार सुकेपछि गाउँनजिकै रहेको खोलाको पानी पिउने गर्छन् । स्थानीय मङ्गलादेवी खत्रीका अनुसार ७० घरधुरीले सोही इनारको पानी पिउने गरेका छन् । गर्मीयाम सुरु भएपछि इनार सुक्ने गरेको खत्रीले बताउनुभयो । गर्मीयाममा एक घण्टा हिँडेर पानी ल्याउने बाध्यता रहेको उहाँले बताउनुभयो । 

“गर्मीयाम सुरु भएपछि घरमा पाहुना नआए हुन्थ्यो जस्तो लाग्छ,” खत्रीले भन्नुभयो । सोही ठाउँकी सम्झना सेनठकुरीले गाउँकै उत्पादनले वर्षभरि खान नपुग्ने भएका कारण पुरुष रोजगारीका लागि विदेश जाने र पानी बोक्नुपर्ने समस्या महिलाले नै बढी झेल्नु परेको बताउनुभयो । उहाँले वैशाख, जेठ महिनामा खोला नै सुक्ने भएकाले जरुवा बनाएर पानीको समस्या टार्ने गरेको बताउनुभयो । राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले पानीको स्रोतको पहिचान गरी खाङ्ग्रा क्षेत्रमा खानेपानी वितरण गरिने बताउनुभयो । 

उहाँले नजिकै मुहान नभएका कारण त्यस क्षेत्रमा खानेपानीको तत्कालै समाधान गर्न नसकिएको बताउनुभयो । अध्यक्ष बुढाथोकीले त्यस क्षेत्रमा विद्युतीकरण गर्न नसकिएकाले समेत खानेपानी वितरणमा थप समस्या सिर्जना भएको बताउनुभयो ।