साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर २२ गते । म्याग्दी सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसङ्ख्या गुणस्तरीय खानेपानीको पहुँच भित्र रहेका छन् । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामार्फत वितरित सदरमुमकाम बेनीमा एक वर्षको अवधिमा उपभोक्तताले ४२ करोड ३२ लाख हजार लिटर पानी प्रयोग गरेका छन् ।
शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको २५ औं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८०/०८१ मा खानेपानी बिक्री गरी एक करोड ७७ लाख चार हजार रुपियाँ आम्दानी गरेकोमा सञ्चालन खर्च एक करोड ३६ लाख चार सय गरी ३४ लाख ९० हजार ८ सय रुपियाँ रहेको छ ।
संस्थाले आर्थिक वर्ष २०८०/०८१मा संस्थाले नगर विकास कोषलाई प्रथम चरण र पुनर्निर्माण आयोजना गरी ६९ लाख ३२ हजार नगर विकास कोषलाई भुक्तानी गर्न बाँकी रहेको छ । संस्थाको बैंक तथा नगद मौज्दाततर्फ दुई करोड ८४ लाख ७७ हजार रुपियाँ रहेको छ । वार्षिक साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगरबासीलाई शुद्ध खानेपानी वितरण गर्ने क्रममा नगरपालिकाको समेत साथ रहेको बताउनुभयो ।
संस्थाका निर्वतमान अध्यक्ष माधबप्रसाद रेग्मी, बेनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य, निमित्त जिल्ला समन्वय अधिकारी अमृत सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, उपभोक्ता लोकनाथ रेग्मी, मैना कार्की, बगरफाँट खानेपानी संस्थाका चन्द्रबहादुर घिमिरे लगायतले शुद्ध एवम् स्वच्छ खानेपानीका लागि भइरहेको प्रयासको प्रशंसा गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष रमेश गिरीले मुहानदेखि मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराउन प्रति सेकेण्ड ३० पानीको भण्डारण गर्ने गरी सेडिमेन्टेसन टङ्की र स्लो स्याण्ड फिल्टर टङ्कीको निर्माणकार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–८,राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे र कोप्रे खोलाबाट नियमित खानेपानी आपूर्ती भइरहेको छ ।