धनगढी समाचारदाता
धनगढी, मङ्सिर २२ गते । भलमनसा (प्रमुख) धनीराम चौधरीलाई गाउँको नेतृत्व गरेबापत यस वर्ष १८ हजार रुपियाँ दिएको छ । कैलारी गाउँपालिका–७, छटकपुर वसन्तावासीले एक वर्षको पारिश्रमिकस्वरूप उहाँलाई त्यति रुपियाँ दिएको हो ।
“हाम्रो गाउँमा भलमनसा, गुरुवा र चौकीदार (चिराकी) लाई पारिश्रमिक दिने व्यवस्था छ,” छटकपुर वसन्ताका पूर्वभलमनसा जियाराम चौधरीले भन्नुभयो, “भलमनसालाई नगद र गुरुवा, चिराकीलाई बाली (धान) दिने गर्दछौँ ।” विगत सात वर्षदेखि भलमनसालाई पारिश्रमिक दिने व्यवस्था रहेको उहाँको भनाइ छ । छटकपुर वसन्तावासीले गाउँभरिबाट मिलाएर एक वर्षको पारिश्रमिकस्वरूप यस वर्ष गुरुवालाई १२ क्विन्टल र चिराकीलाई १३ क्विन्टल धान दिएका छन् । भलमनसासहित सबैलाई पारिश्रमिक दिनका लागि प्रत्येक घरबाट एक मन धान सङ्कलन गरिएको थियो ।
छटकपुर वसन्ताको भलमनसा जस्तै थारू समुदायमा गाउँको नेतृत्व गर्ने कतिपय गाउँका भलमनसाले पछिल्लो समय पारिश्रमिक पाउन थालेका छन् । गाउँवासीको निर्णय अनुसार नै भलमनसालाई पनि पारिश्रमिक दिन थालिएको हो । पहिले पहिले भलमनसाले निःशुल्क र निःस्वार्थ रूपमा गाउँको नेतृत्व एवं सेवा गर्दै आएका थिए । गुरुवा र चौकीदारलाई भने पहिल्यैदेखि नै पारिश्रमिकस्वरूप बाली (धान) दिने भलमनसा प्रथामा व्यवस्था रहेको छ ।
भलमनसा प्रथालाई जीवन्त राख्नका लागि पारिश्रमिक दिन थालिएको कैलारी गाउँपालिका–६, बेनौलीका भलमनसा रामऔतार चौधरीको भनाइ छ । उहाँले गाउँको सेवामा खटेबापत आफूले पनि पारिश्रमिक पाउने गरेको जानकारी दिनुभयो ।
बेनौलीमा २७१ घरधुरी रहेको छ । गुरुवा, केसौकालाई बाली दिनका लागि प्रतिघरबाट सात पसेरी (१७.५ केजी) का दरले धान र एक पसेरी (२.५ केजी) का दरले चामल उठाइएको थियो । सङ्कलित बालीमध्ये दुवै जनाले २३.७१ क्विन्टलका दरले धान र तीन क्विन्टलका दरले चामल पाएका छन् ।
गाउँका भलमनसा र चिराकीलाई पारिश्रमिकस्वरूप नगद दिनका लागि प्रतिघरबाट ३५० रुपियाँका दरले पैसा उठाइएको थियो । भलमनसा र चिराकीले ४७ हजार ४२५ रुपियाँको दरले एक वर्षको पारिश्रमिक पाएका छन् । “भलमनसा प्रथा हाम्रो समुदायमा सदियौँदेखि चल्दै आएको छ,” चौधरीले भन्नुभयो, “यसका आफ्नै नीति नियम छन् । त्यसैका आधारमा गाउँघर चल्ने गरेको छ ।”
भलमनसा गाउँको नेतृत्व गर्ने प्रमुख पद हो । भलमनसाले गाउँघरमा विकास निर्माणदेखि लिएर भोजभतेरमा नेतृत्वकर्ताको भूमिका निर्वाह गर्ने गर्दछन् । यसै गरी गाउँघरमा हुने सामान्य वादविवाद पनि भलमनसाले नै मिलाउने गरेका छन् ।
चिराकीले भने कुनै पनि खबर गाउँका सबै परिवारसम्म पु¥याउने गर्दछन् । यसै गरी गुरुवा र केसौकाले मुख्य र सहायक गुरुवाको भूमिकामा विभिन्न पूजापाठ गर्ने कार्य गर्दछन् । थारू समुदायमा भलमनसादेखि चिराकी, गुरुवा, केसौका सबैको पदावधि एक वर्षका लागि हुने गर्छ ।
पछिल्लो समय ९० प्रतिशत भलमनसाले पारिश्रमिक पाउन थालेको थारू बुद्धिजीवी ठाकुरप्रसाद करिया प्रधानले बताउनुभयो । पारिश्रमिक पाउने व्यवस्थाले भलमनसा प्रथालाई कायम राख्न सहयोग पुगेको उहाँको भनाइ छ । “पहिले पहिले जग्गा जमिन धेरै भएका जमिनदार व्यक्ति भलमनसा बन्ने गर्दथे । उनीहरू निःशुल्क रूपमा सामाजिक काम गर्न सक्थे,” उहाँले भन्नुभयो, “अहिले मान्छेको जग्गाजमिन कम छ । घरमा एक्लै हुन्छन् । भलमनसा कोही बन्न चाहँदैनन् । त्यसका कारण सामाजिक काम गर्दा भलमनसालाई आर्थिक असर नपरोस् भनेर पारिश्रमिक दिन थालिएको छ ।”