बुटवल समाचारदाता
बुटवल, मङ्सिर २२ गते । उपसभामुख इन्दिरा रानामगरले बुटवलमा बिहीबारदेखि सुरु भएको प्रथम मगर साहित्य महोत्सव उद्घाटन गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले साहित्यको क्षेत्रमा मगरहरूको सहभागिता कम भएको अवस्थामा मगर साहित्यको विषयमा जानकारी प्रदान गर्न महोत्सव महत्वपूर्ण हुने बताउनुभयो । उहाँले देशमा लोकतन्त्रका लागि भएका आन्दोलनमा मगर समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै मगर साहित्य महोत्सवमा मगर महिलाको सहभागितासमेत बढी हुनु खुसीको कुरा भएको उल्लेख गर्नुभयो । “लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा मगर समुदायले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अब यसको रक्षाका लागि पनि उत्तिकै महत्वपूर्ण भूमिकाको खाँचो छ,” उहाँले भन्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मगर साहित्य महोत्सवले मगर समुदायको भाषा, संस्कृति संरक्षण गर्न सहयोग पुग्ने बताउँदै बुटवल उपमहानगरले मगर भाषाको नागरिक बडापत्र सार्वजनिक गरेको बताउनुभयो ।
नेपाल मगर महिला सङ्घ रुपन्देहीको आयोजनामा भएको महोत्सवमा मगर समुदायको भाषा, साहित्य, इतिहासको विषयमा जानकारी दिइनुका साथै कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचीन सामग्रीको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ । महोत्सवका प्रचारप्रसार समिति संयोजक यम रानामगरले मगर समुदायले बोल्ने ढुट, खाम तथा काइके गरी तीन भाषामा कविता वाचन प्रतियोगिता हुने बताउनुभयो ।