कबिराज घिमिरे
हिले, मङ्सिर २१ गते । पश्चिम बंगालको कोलकातामा छैठौं सुन्तला महोत्सव शुक्रवारदेखि सुरु भएको छ । सिटी अफ जोएु कम्पनीको आयोजनामा भएको यस महोत्सवमा नेपाल, भारत र भुटानका सुन्तला उत्पादकहरूको सहभागिता रहेको छ ।
एसोसिएसन फर कन्जरभेसन एन्ड टुरिजमले द्विवार्षिक रूपमा आयोजना गर्दैआएको यस महोत्सवको उद्घाटन पश्चिम बंगालका बरुणयन्त्र मन्त्री राजीव बोसले गर्नुभयो । उद्घाटन समारोहमा मन्त्री बोसले महोत्सवले तीन देशबिचको भाइचारा र सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सवमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सुन्तला, अलैची, एभोकाडो, किवी र बेलिचनलगायतका स्थानीय उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । सल्टलेक सिटी सेन्टरमा आयोजित यस तीन दिने महोत्सवमा नेपालका २०० भन्दा बढी होटल व्यवसायी, होमस्टे सञ्चालक, किसान र कलाकारहरू सहभागी छन् ।
ग्रामीण पर्यटन प्रवर्धनका अगुवा राज बासुका अनुसार यो महोत्सव तीन देशबिचको आर्थिक तथा सांस्कृतिक सम्बन्ध विकासको महत्त्वपूर्ण माध्यम बन्न सक्छ । विशेषगरी कोशी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०८२ का लागि यो महोत्सव रणनीतिक महत्त्वको मानिएको छ ।
पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेलका अनुसार महोत्सवले आगामी वर्ष लाखौं भारतीय पर्यटक आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । महोत्सवमा कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य पाथीभरा, चतरा र हलेसीलगायतका धार्मिकस्थलहरूको प्रचारप्रसार पनि गरिएको छ । नेपाली प्रतिनिधि अर्जुनकुमार कार्कीले बंगाली पर्यटकहरूलाई कोशी प्रदेश भ्रमणको निम्तो दिइएको बताउनुभयो ।