लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर २१ गते । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले जनकपुरधामवासीलाई शुक्रबार दीपोत्सव मनाउन आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री सिंहले विवाहपञ्चमीको अवसरमा शुक्रबारका दिन प्रत्येक घरआँगनमा ११ वा २१ वटा दीप प्रज्वलन गरी महोत्सवको धार्मिकता र सांस्कृतिक ऐतिहासिकतालाई उजागर गर्न आग्रह गर्नुभएको हो । उहाँले यस वर्षको विवाहपञ्चमी महोत्सवले सहरलाई सांस्कृतिक, धार्मिक र सामाजिक एकताको प्रतीक बनाएको उल्लेख गर्नुभयो ।
साथै उहाँले विवाहपञ्चमी महोत्सवमा सहभागी हुन भारतलगायतका विभिन्न स्थानबाट आएका श्रद्धालुहरुलाई जनकपुरधामवासीले आफ्ना घरहरुमा अतिरिक्त कोठाहरुमा वासको व्यवस्था गरिदिन विशेष आग्रह गर्नुभएको छ । यसले सहरको ऐतिहासिक “अतिथिदेवो भव” परम्परालाई पुनर्जीवित गर्ने प्रयासलाई बल पुर्य ाउने उहाँले भन्नुभयो ।
मुख्यमन्त्रीले भन्नुभयो, “विवाह महोत्सवलाई व्यवस्थित बनाउन प्रदेश सरकारले जनकपुरधामका रेल्वे स्टेशन, तिरहुतिया गाछी, कलवार कुट्टी र मणिमण्डपजस्ता स्थानहरूमा अस्थायी आवासहरू निर्माण गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाले बाह्रबिघा मैदानमा पनि यस्तै व्यवस्था गरेको छ, त्यहाँ गएर वास बस्न श्रद्धालुलाई आग्रह गर्नुभयो ।
विवाहपञ्चमी महोत्सव केवल धार्मिक अनुष्ठान मात्र नभई जनकपुरधामका स्थानीय बासिन्दाको सहयोग भावना र जिम्मेवारीको प्रतिविम्ब हो, भन्नुहुँदै स्थानीय बासिन्दाले आफ्नो घरका अतिरिक्त कोठामा श्रद्धालुहरूलाई वास दिनुपर्ने आवश्यकता वर्तमान परिस्थितिमा थप महत्त्वपूर्ण बनेको छ भने यस प्रकारको महोत्सवले सहरको संस्कृति जीवन्त र अन्तर्राष्ट्रिय आकर्षणको केन्द्रका रूपमा स्थापित हुने विश्वास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले महोत्सवलाई सफल मात्र नभई अविस्मरणीय बनाउनेछ ।”