• १४ पुस २०८१, आइतबार

बिआरआई सम्झौता सकारात्मक

blog

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर २१ गते ।  पूर्वपरराष्ट्रमन्त्री कमल थापाले नेपाल र चीन सरकारबिच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा भएको सम्झौता सकारात्मक भएको बताउनुभएको छ । हेटौँडामा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री थापाले बिआरआई विकाससँग मात्र सीमित नभएर बहुआयामिक अवधारणा भएकाले यस अवधारणाप्रति डराउनु र आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको समझदारीले दुई देशबिचको विकास साझेदारीमा सहयोग पुग्ने बताउनुभयो । 

नेपाल र चीन सरकारबिच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्य फ्रेमवर्क’ मा बुधबार हस्ताक्षर भएको हो । “बहुचर्चित चिनियाँ साझा विश्व र साझेदारीमा विकासको अवधारणा ‘बिआरआई’ फ्रेम वर्कमा दुई देशीय प्रतिबद्धतामा हस्ताक्षर हुनु सकारात्मक हो,” पूर्वपरराष्ट्रमन्त्री थापाले भन्नुभयो, “तर यो कार्यान्वयन चुनौतीपूर्ण र कार्यान्वयनमा आउने सम्भावना पनि कम छ ।” उहाँले नेपालभित्र दलबिच बिआरआईका बारेमा फरक धारणा रहेकाले बिआरआईमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कुनै देश वा दातासँग अनुदान भए लिन्छु, ऋण लिन्न भन्नु ठिक होइन, हाम्रो हित अनुकूल छ/छैन भन्ने हेर्नु पर्छ ।” 

थापाद्वारा लिखित नाकाबन्दी र भूराजनीति पुस्तक वार्ता कार्यव्रmममा उहाँले राजनीतिशास्त्र र परराष्ट्र विषयमा अभिरुचि राख्ने भएकाले आफ्ना अनुभवलाई अभिलेखीकरण गर्न उक्त पुस्तक लेखेको स्पष्ट पार्नुभयो । पञ्चायत कालमा सञ्चारमन्त्री र बहुदल प्राप्तिदेखि हालसम्म तीन पटक परराष्ट्रमन्त्री बन्नुभएका थापाले पुस्तकमा अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालको कूटनीति, नेपालमाथि चार पटक भएको नाकाबन्दीलगायत आफ्ना अनुभव समेटिएको बताउँदै आफ्नो अनुभवलाई नागरिकसमक्ष राख्ने इमानदार प्रयास गरिएको बताउनुभयो । “यो पुस्तक मेरो आत्मकथा होइन, सत्यतथ्यमा आधारित दस्ताबेज हो, पुस्तकबाट नेपालका राजनीति दल र नेताहरूको चरित्र उजागर भएको छ,” थापाले भन्नुभयो । पूर्वपरराष्ट्रमन्त्री थापासँग कालापानी, नाकाबन्दी, २०५४ को स्थानीय निकाय निर्वाचन, चीनसँगको पारवहन सम्झौता, भारतसँगका सम्झौतालगायतमा जिज्ञासा राखिएको थियो ।