तिलाचन पाण्डे
तम्घास, मङ्सिर २१ गते । गुल्मीमा एक कार्यक्रमका सहभागीहरुले सडक बालबालिकाहरुको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । सडक बालबालिकाहरुको उचित व्यवस्थापन हुन नसक्दा विभिन्न घटनाहरु बढ्दै गएकाले उचित व्यवस्थापन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय, बुटवलको आयोजनामा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा गैरसरकारी संस्थाका अध्यक्ष बिष्णु भण्डारीले सडक बालबालिकाले उचित व्यवस्थापन हुन नसक्दा उनीहरु पनि सुरक्षित नभएको बताउँदै बजारमा चोरीलगायतका घट्नाहरुमा वृद्धि हुँदै गएको बताउनुभयो ।
समयमै सडक बालबालिकाहरुको दीर्घकालीन रुपमा व्यवस्थापन गर्न नसकेमा थप चुनौती हुने भन्दै यसतर्फ सबैको ध्यान जानुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरेले केही समय पहिले ब्यबस्थापनमा प्रयास गरे पनि दीर्घकालिन उपलब्धी हासिल गर्न नसकिएको बताउनुभयो । यसका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको बताउनुभयो ।
नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले मानव अधिकारका मौलिक हकहरु भए पनि त्यस सम्बन्धी प्रयाप्त कानुन निर्माण हुन नसक्दा समस्या आउने गरेको बताउनुभयो । नेपालमा घोषणका रुपमा मात्रै कार्यहरु गरिने र आवश्यक कानुनहरु निर्माण नहुँदा कार्यान्वयनमा समस्या आउने गरेको बताउनुभयो । यस्तै जिल्लामा सहज रुपमा सूचना प्राप्त गर्न नसकिएको बताउँदै सहज रुपमा सूचना प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सडक बालबालिकाको समस्यालाई अभिभावकत्व ग्रहण गराउन सकेमा सबैभन्दा उत्तम हुने बताउनुभयो । पहिलो रुपमा अभिभावकत्व नै भएको बताउँदै त्यो हुन नसकेमा उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले सडक बालबालिकाहरुलाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि योजना बनाएको बताउँदै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । पहिले केही समय व्यवस्थापन गरेर उनीहरुलाई विद्यालयमा जाने वातावरण बनाएको बताउँदै अहिले विद्यालय जान पनि छाडेको र पहिलेकै वस्थामा आएकाले समस्या भएको बताउनुभयो ।
जिल्लामा पहिले १८ जना सडक बालबालिकाहरु रहेको र उनीहरुको समूह विस्तार हुँदै गएको पाइएको छ । केही दिन पहिले १२ वर्षीय सडक बालिकालाई तम्घासको एक होटलमा लागि मालिकाका १८ वर्षीय युवाले जवरजस्ती करणी गरी फरार भएका थिए । निजलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत गुल्मीबाट सात दिको म्याद थप गरी अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख हरी ज्ञवालीले मानव अधिकारको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । जिल्लाको अवस्थाका बारेमा इन्सेक नेपाल गुल्मीका प्रतिनिधि टोपलाल अर्यालले जानकारी गराउनुभएको थियो ।