चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर २० गते। सभामुख देवराज घिमिरेले ताप्लेजुङको ग्रामीण भेगमा रहेको सिनाम बहुमुखी क्याम्पस तथा माध्यमिक विद्यालयमा विभिन्न अक्षयकोष स्थापना गर्ने अक्षयकोषदातालाई सम्मान गर्नुभएको छ। उक्त क्याम्पस तथा माविको वार्षिक उत्सवको अवसरमा सभामुख घिमिरेले अक्षयकोषदातालाई सम्मान गर्नुभएको हो।
बिहीबार सिनाम बहुमुखी क्याम्पसको १७ औँ वार्षिक उत्सव तथा सिनाम माध्यमिक विद्यालयको ७५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ। क्याम्पस तथा विद्यालयको वार्षिक उत्सव कार्यक्रममा सहभागी बन्नुभएका सभामुख घिमिरेले अक्षयकोषदाताहरूलाई सम्मान गर्नुभएको क्याम्पस प्रमुख महेन्द्रप्रकाश गौतमले बताउनुभयो।
क्याम्पस प्रमुख तथा प्रधानाध्यापक गौतमका अनुसार विद्यालयमा विभिन्न अक्षयकोष रकम स्थापना गर्ने ६० जनाभन्दा बढी अक्षयकोषदातालाई घिमिरेले सम्मान गर्नुभएको छ। वार्षिक उत्सवको अवसरमा अक्षयकोषदातालाई सम्मानसँगै अन्य विभिन्न कार्यक्रम पनि गरिएको छ। उत्कृष्ट भूमिका निर्वाह गर्ने क्याम्पस तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा उत्कृष्ट विद्यार्थीलाईसमेत सम्मान साथै पुरस्कृत गरिएको छ।
यता आफ्नो जन्मस्थलमा रहेको क्याम्पस तथा विद्यालयको वार्षिक उत्सव कार्यक्रममा सभामुख घिमिरे सहभागी हुन आउनुभएको बताइएको छ। घिमिरेको जन्मस्थल ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचा हो। सिनाम बहुमुखी क्याम्पस तथा माध्यमिक विद्यालय भने सिरिजङ्घा गाउँपालिका–१ मा पर्दछ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रतिनिधिसभा सदस्य उर्मिला थेबे, प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो लगायतका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्व सहभागी हुनुभएको थियो।