• ८ पुस २०८१, सोमबार

प्रणालीको संरक्षण गर्न बरघरहरु एक ठाउँमा

blog

एकै ठाउँमा भेला भएका बैजनाथका बरघरहरु । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, मंसिर २० गते । बाँकेको बैजनाथ गाउँपालिकामा रहेका बरघरहरु बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकासका लागि छलफलमा जुटेका छन् । गाउँपालिकाले बरघर प्रणालीको संरक्षण, प्रवर्धन र विकास गर्न निर्माण गरेको विधेयक २०८१ को पूर्ण रूपमा कार्यान्वयन गराउन बैजनाथका ३६ बरघरहरु एकै ठाउँमा आएका हुन् ।

सो अवसरमा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायले बैजनाथमा थारु परम्परागत कला सांस्कृतिक संरक्षण गर्ने र थारु सङ्ग्रहालय निर्माण गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । 

थारुहरूको पहिचान हुनेगरी आफ्ना गतिविधि गर्नका लागि आफै लाग्नुपर्ने बताउँदै उहाँले आगामी कार्यक्रममा विभिन्न आत्मनिर्भरका तालिमहरु समेत सञ्चालन गर्नेगरी योजनाहरूको प्रस्ताव पेस गर्न बरघरसँग अनुरोध गर्नुभयो । 


‘कला, संस्कृति, रीतिरिवाज, चालचलन, भेसभुसालाई संरक्षण गर्न पालिकाले सबै आर्थिक सहयोग गर्ने भन्ने हुँदैन’ उहाँले भन्नुभयो, ‘आफूले आफ्नो कला, संस्कृति, रीतिरिवाज, चालचलन, भेसभुसालाई संरक्षण गर्न एक ठाउँमा आउनुपर्छ ।’


बैजनाथका बरघरका अध्यक्ष चन्द्रबहादुर थारुले सबै वडामा समिति तयार भइसकेको बताउनुभयो । उहाँका अनुसार बरघर ऐन, नियम कानुन पालिकाले २०८० माघ १८ गते राजपत्रमा प्रकाशन गरिसकेको छ ।

चौधरीले सो अवसरमा केही महत्त्वपूर्ण निर्णय गर्दै बैजनाथ–१ चिसापानीमा माघी महोत्सव आयोजना गर्ने समेत निर्णय भएको बताउनुभयो । यसैबिच बैजनाथ गाउँपालिकाको ८ वटा वडामा समेत बरघरको नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसमा वडा नम्बर १ मा खुसीराम थारु, वडा नम्बर २ मा श्यामुवा थारु, ३ नम्बर वडामा जुगलाल थारु, ४ नम्बर वडामा सोहनलाल थारु, ५ नम्बर वडामा प्रेमलाल थारु, ६ नम्बर वडामा छोटेलाल थारु, ७ नम्बर वडामा महेश थारु र ८ नम्बर वडामा राधेश्याम थारु चयन हुनुभएको छ ।