• २७ पुस २०८१, शनिबार

दमक बिजनेस कम्प्लेक्स निर्माण पूरा

blog

झापाको दमक वडा नं. ३ मा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको भ्यू टावर ।

विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर २१ गते ।
झापाको दमक वडा नं. ३ मा निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन नसकेको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को उद्घाटन हुने भएको छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योल सिर्जना भइरहेको समयमा यसको स्वामित्व अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई दिने तयारीसहित उद्घाटन हुन लागेको हो ।

आँउदो मङ्सिर २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यू टावरको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । केही समय अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक तेजबहादुर राईसहितको टोलीले स्थलगत निरीक्षण गरेर यस विषयमा गहन छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

२०७६ सालदेखि निर्माण सुरु भएको प्रस्तावित दमक बिजनेस कम्प्लेक्स एक वर्ष अघि निर्माण सम्पन्न भइसकेको छ । २०७६ साल असार २७ गते प्रधानमन्त्री ओलीले यसको शिलन्यास गर्नुभएको थियो । एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।

सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका अनुसार कुल एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको छ । एक अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको हो । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा पाएको थियो ।

नेकपा (एमाले) झापाका सचिव एवम् प्रधानमन्त्री ओलीका सचिवालयका सदस्य तुलसी कार्कीका अनुसार बहुआयामिक बिजनेश कम्लेक्सको रुपमा यसको उद्घाटनको तयारी पूरा भएको छ । भौतिक संरचनालगायत सबै काम सम्पन्न भइसकेकाले यसको उद्घाटन हुन लागेको उहाँको भनाइ छ । यसको उद्घाटन हुने भएपछि स्थानीयहरु उत्साहित भएको उहाँको भनाइ छ ।

दमक नगरपालिकाका पूर्व प्रमुख रोमनाथ ओलीका अनुसार यो सुविधासम्पन्न बहुउपयोगी बिजनेश टावरको रुपमा सोचेर बनाइए पनि भ्यू टावरको रुपमा मात्र व्याख्या गरेर भ्रम छर्ने काम भएको बताउनुभयो । यो एउटा नेपालकै अग्लो बिजनेश टावर हो र केही समयभित्र नै यो पूर्णरुपमा सञ्चालनमा आउनेमा विश्वस्त छौ, उहाँले भन्नुभयो ।

कप्लेक्सको भुइँतलामा ४० वटा चारचक्के र दुई सय वटा दुईचक्के सवारीसाधन अट्ने क्षमताको पार्किङस्थल छ । व्यापारिक प्रयोजनका पसल, सेमिनार हल, बैंक, वित्तीय संस्थालगायत व्यापारिक केन्द्र, कृषि तथा औद्योगिक सामानको प्रदर्शनी हल, रेस्टुरेन्ट र लज बनाउन सक्ने किसिमको डिजाइन यसमा रहेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका इन्जिनियर भूपेन्द्र यादवले बताउनुभयो ।

कम्प्लेक्सको वरिपरि आकर्षक पार्क बनेको छ । प्रधानमन्त्री एवम् यस क्षेत्रका प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका केपी शर्मा ओलीले बारम्बार यो भ्यू टावर नभएर पर्यटकीय महत्त्व बोकेको कर्मसियल बिजनेश टावर भएको बताउँदै आउनुभएको छ । अनुत्पादक क्षेत्रमा लगानी भएको भन्दै विरोध हुने गरेपछि उहाँले यस्तो बताउँदै आउनुभएको हो ।

दमक भ्यू टावरको आसपास क्षेत्रमा स्मार्ट सिटी बनाउने योजना सरकारले अघि सारे पनि यो कार्यान्वयनमा आउन सकेको छैन । स्थानीयहरुको असहयोगका कारण नै यो कार्यन्वयनमा आउन नसकेको बताइने गरेको छ । वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार बारम्बार सरकार फेरिँदा र स्मार्ट सिटीसम्बन्धी स्पष्ट खाका नआएका कारण स्थानीयले कुरा नबुझेको हुन सक्छ ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले निर्माण सम्पन्न भइसकेकाले चाँडो यो सर्वसाधारणका लागि खुला होस र उद्देश्य अनुरुप सञ्चालन होस् भन्ने आफूहरुको चाहना रहेको उल्लेख गर्नुभयो । यसमा स्थानीय सरकारले खेल्नुपर्ने भूमिका सधैँ खेल्ने पनि उहाँको भनाइ थियो । नगरपालिकाले जिम्मा लिन मानेन भनेर आरोप लगाइयो तर अहिलेसम्म औपचारिक रुपमा जिम्मा लिन कसैले भनेको छैन, उहाँले स्पष्ट पार्नुभयो ।

स्थानीयले नै निःशुल्क रुपमा ५ बिघा जग्गा उपलब्ध गराएको स्मरण गर्दै स्थानीयले यहाँ आउने योजनालाई स्वागत गर्ने बरालको दाबी छ । स्थानीयलाई बुझाएर काम अघि बढाउन सकिन्छ, उहाँले भन्नुभयो । यहाँ आउने सडकहरुलाई स्तराेन्नति गरेर र आवश्यक अन्य पूर्वाधार बनाएर अघि बढ्नुपर्छ, उहाँको भनाइ छ ।