• ८ पुस २०८१, सोमबार

सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा

blog

सुवास दर्नाल

सोलुखुम्बु, मङ्सिर २० गते । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो । 

सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन् ।  स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताउनुभयो । यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उहाँले बताउनुभयो । स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागेको भन्दै फेरि स्थानीय त्रासमा रहेको बताउनुभयो । “वर्षायाममा त समस्या हुन्छ नै, यहाँ त सुख्खायाममा पनि पहिरो जाने गरेकाले समस्या भएको छ । यसको उचित व्यवस्थापन नभए बस्ती नै विस्थापित हुने जोखिम छ”, उहाँले भन्नुभयो । 

सोलुदुधकुण्ड नगरपालिका–११ का अध्यक्ष टङ्कबहादुर कार्कीले पहिरोका कारण एक सयभन्दा बढी घर जोखिममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदको समयमा समेत पहिरो गइरहेकाले गाउँ नै जोखिममा छ, यो पहिरो यही गतिमा बढ्दै जाने हो भने सय डेढ सय घरपरिवार विस्थापित हुने अवस्था आउँछ ।  पहिरो विस्तार हुँदै गइरहेकाले यसको रोकथामका लागि तत्काल काम गर्न आवश्यक छ ।”  वडाध्यक्ष कार्कीले पहिराले स्थानीयको दैनिकी नै प्रभावित भइरहेको बताउनुभयो । 

स्थानीय चित्रकुमारी बस्नेतले पहिरोका कारण सुख्खायाममा पनि ढुक्कले सुत्न नपाएको सुनाउनुभयो । “राति निन्द्रा नै लाग्दैन । जहिले पनि पहिरोले हाम्रो घर पुरेर लैजान्छ कि भन्ने डरले हामीलाई सताइरहन्छ । बाउबाजेदेखिको सम्पत्ति भनेको यही घरबारी थियो, यही अवस्था रहेमा यो केही बच्नेवाला छैन”, उहाँले दुःखेसो पोख्नुभयो । 

करिब ३० वर्षअघि सामान्य रहेको पहिरो यही मङ्सिर १२ गतेपछि मात्रै करिब पाँच सय मिटर फैलिएको उहाँले सुनाउनुभययो । 

स्थानीयका अनुसार पहिरोले नजिकै रहेको उतिसको जङ्गलसहित गोरेटो बाटोसमेत कटान गरिसकेको छ । त्यसभन्दा माथि रहेको खेतीयोग्य जमिन चिराचिरा भएको छ । पहिरो बस्ती नजिकको सडकछेउ पुगिसकेको छ । 

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पहिरो क्षेत्रको वस्तुस्थिति आँकलन गर्न जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेको बताउनुभयो । उहाँले जलश्रोत तथा सिँचाइ सब डिभिजन कार्यालय र ओखलढुङ्गाको भू–जलधार संरक्षण कार्यालयका विज्ञसहतिको टोलीले समेत पहिरोग्रस्त क्षेत्रको अध्ययन सुरु गरेको बताउनुभयो । “स्थानीय प्रशासन नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सधैँ सचेत छ । पहिरो रोकथाम र नागरिकको जिउधनको सुरक्षामा हामी हदैसम्म गम्भीर छौँ, यसका लागि कुनै कसर बाँकी राख्ने छैनौँ तर समग्र अवस्थाको आँकलन गरी पहिरो रोकथामका लागि विज्ञ टोलीले थप अध्ययन गर्न आवश्यक छ । यसका लागि तिनै तहका सरकारबीच समन्वय गरी अगाडि बढ्नुपर्छ”, प्रजिअ घिमिरेले भन्नुभयो । 

उहाँले हाल अध्ययनका लागि स्थलगत अवलोकन गरेका टोलीले प्रतिवेदन दिएपछि सोहीअनुसार आवश्यक काम गर्न जिल्ला प्रशासनले समन्वय गर्ने जानकारी दिनुभयो । 

स्थानीय नागरिक र सरोकारवाला पनि हालसम्म अध्ययनमा सङ्लग्न टोलीले समस्या समाधानका लागि उपाय खोज्नेमा आशावादी छन् । सो टोलीको सिफारिसको आधारमा थप अध्ययन वा रोकथामका काम अगाडि बढ्ने अपेक्षा गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । “पहिरो विस्तार हुने क्रम हेर्दा सानोतिनो प्रयासले नियन्त्रण समस्या छ । त्यसैले तिनै तहका सरकारले एकीकृत रूपमा समस्या समाधानका लागि पहल गर्न आवश्यक छ । हामीले पनि आफ्नो तर्फबाट सबैको ध्यानाकर्षण गराइहेकै छौँ । समयमै समस्या समाधान नगरे ठूलो मानवीय र भौतिक क्षति हुनसक्छ । तिङलाबासी आफ्नो बस्तीको अस्तित्व जोगाउन राज्यको सक्रियता प्रतीक्षामा छौँ”, उहाँले भन्नुभयो । 

सोलुखुम्बुका अन्य ग्रामीण क्षेत्रमा पनि पहिरोका जाने समस्या छ तर यहाँ भने सुख्खा मौसममा पनि पहिरो गइरहने भएकाले समस्या झन् जटिल बनेको हो । यसैले त्रासमा रहेका यहाँका स्थानीय आफ्नो थातथलोको संरक्षण र ज्युज्यान जोगाउन सरकारले तत्काल कदम चाल्नुपर्ने बताउँछन् । रासस