कास्की समाचारदाता
कास्की, मङ्सिर २० गते । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र उद्योगको विकासका लागि छिटोछरितो तरिकाले काम सम्पन्न गर्ने बताउनुभएको छ । पोखराका पत्रकारमाझ डिसीले भन्नुभयो, “जुन कामका लागि बोर्डको अध्यक्ष भए, ती काम पूर्ण तरिकाले गर्ने छु । फेसबुकको कमेन्टको जवाफ दिन चाहान्न कामबाटै देखाउने छु । काम गर्दा राम्रो नराम्रो प्रतिक्रिया आउने गर्छन्, यसलाई सकारात्मक रूपमा लिएको छु ।”
डिसीले वैशाख १ गतेभित्र तीन वटा काम सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । बोर्डले सोमबार नेपालभरका हलको तथ्याङ्क सार्वजानिक गरेको थियो । डिसीले सार्वजनिक भएका १६६ हलमा पुगेर हल सञ्चालकको अवस्था बुझ्ने बताउनुभयो । उहाँका अनुसार अहिले चलचित्र उद्योग २०२६ सालको ऐनमा चलेको छ । उक्त ऐन पुरानो र परिमार्जित गर्नुपर्ने उहाँको भनाइ छ । “सबै चलचित्र भवन एउटै ऐनमा चल्नु पर्छ । ऐन निर्माण भएसँगै नियम बन्छ । तब मात्र काम गर्न सहज हुन्छ,” उहाँले भन्नुभयो ।
यसका साथै डिसीले नेपालभरका हलमा बक्स अफिस सञ्चालन गर्ने तयारी गरेको सुनाउनुभयो । “हरेक सिनेमा हलमा बक्स अफिस लागु हुने छ । कति जनाले टिकट काटे भनेर तत्काल हेर्न मिल्ने प्रविधियुक्त बक्स अफिस सञ्चालन गरिने छ । यी काम गर्नै पर्छ नत्र चलचित्र उद्योगलाई घाटा लाग्छ,” उहाँले भन्नुभयो । नेपालका केही सिनेमा हलले बक्स अफिस लागु नगरेको र अटेर गरेकोलाई पत्राचारसमेत गरेको उहाँले जानकारी दिनुभयो । उहाँले चलचित्र क्षेत्रमा ३० वर्षसम्म अनवरत काम गर्ने कलाकारलाई कार्ड वितरणसमेत गरिएको सुनाउनुभयो । “कार्ड वितरण कार्य रोकिएको थियो । अहिले सुचारु गरिएको छ । यो कार्डले सिंहदरबार सिधै छिर्न समेत पाइने छ । कलाकारलाई एक लाखसम्मको जीवन बिमालाई पनि निरन्तरता दिइएको छ,” उहाँले भन्नुभयो । हाल विकास बोर्डको आयोजनामा ड्रोन तालिम भइरहेको उहाँले सुनाउनुभयो । “विभिन्न तालिम सञ्चालन गर्ने योजना छ । अहिले ड्रोन चलाउने तालिम सुरु भएको छ । पछि ड्रोनको लाइसेन्स विकास कोर्डले दिने तयारीमा जुटेका छौँ,” उहाँले भन्नुभयो । साथै विकास बोर्डले चलचित्रको पटकथा सङ्ग्रहालयको सुरुवात गरेको उहाँले सुनाउनुभयो । “सङ्ग्रहालयले नेपाली चलचित्रका पटकथालाई सुरक्षित राख्ने छ । बोर्डले पटकथालाई डिजिटल अभिलेखका रूपमा तयार पार्ने योजना बनाएको छ । यसले नेपाली चलचित्रको ऐतिहासिक सम्पदालाई मात्र जोगाउने नभई भावी पुस्ताका लागि अध्ययन र अनुसन्धानको महत्वपूर्ण स्रोत पनि बनाउने जनाइएको छ,” अध्यक्ष डिसीले भन्नुभयो ।