• ८ पुस २०८१, सोमबार

मोतीपुर औद्योगिक क्षेत्र जग्गा नापजाँच पुनः सुरु

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर २० गते । शिलान्यास भएर पनि जग्गा विवादका कारण चार वर्षअघिदेखि रोकिएको बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच पुनः सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१७ र १८ मा पर्ने जग्गाको नापजाँच सुरु भएको हो । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा विवाद नभएको तर केही जग्गा विवादका कारण रोकिएको निर्माणको काम जग्गा नापजाँचपछि सुरु हुने बताउनुभयो ।

करिब नौ सय बिघा क्षेत्रफलमा विस्तार गर्ने भनिएको मोतीपुर औद्योगिक क्षेत्र करिब दुई सय बिघा जग्गा विवादका कारण तीन वर्षदेखि रोकिएको हो । सरकारले समेत विवादित जग्गालाई छोडेर बाँकी जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्ने बताएपछि अहिले बुटवल उपमहानगर–१७ र १८ का जनप्रतिनिधिको रोहबरमा जग्गा नापजाँच सुरु भएको हो । केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विवादित जग्गालाई छोडेर बाँकी जग्गामा औद्योगिक क्षेत्र बनाउने गरी सरकारले तयारी गरेको बताउनुभएको थियो ।   बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम तुरुन्त सुरु गर्न सरकारलाई दबाब दिएको बताउनुभयो । उहाँले विवादित जग्गा छोडेर बाँकी जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्न सकिने सरकारलाई सुझाव दिएको बताउनुभयो । 

विसं २०७७ फागुनमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो । शिलान्यासलगत्तै भएको विवादका कारण निर्माणको काम अहिलेसम्म अवरुद्ध छ । बुटवल उद्योग वाणिज्य सङ्घले मोतीपुरमा औद्योगिक क्षेत्र निर्माण गर्ने अवधारणा ल्याएको थियो । आफ्नै नेतृत्वमा औद्योगिक क्षेत्र निर्माण गर्ने गरी अघि बढेको सङ्घ तत्कालीन उद्योगमन्त्री सोमनाथ पाण्डेले सरकारले नै निर्माण गर्ने गरी सङ्घसँग सहमति भएपछि निर्माणको प्रक्रिया सुरु भएको थियो । मोतीपुर औद्योगिक क्षेत्रको कुल ८१३ बिघा जग्गामध्ये स्थानीय जनताको समेत त्यहाँ जग्गा परेपछि निर्माण अघि बढ्न नसकेको हो । 

बुटवल उपमहानगरका प्रमुख पाण्डेले स्थानीय जनताले जोतभोग गरेकोबाहेकको जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्ने वातावरण बनाएर औद्योगिक क्षेत्र निर्माणको कामलाई गति दिनुपर्ने बताउँदै आउनुभएको छ ।

विसं २०२२ देखि बसोबास गरिरहेका मोतीपुरका स्थानीयले जग्गामा दाबी गरेपछि मोतीपुर औद्योगिक क्षेत्रको निर्माण अलपत्र परेको हो । नेपाल सरकारले २०७२ चैत १ गते पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो ।