• ८ पुस २०८१, सोमबार

एउटा इनारमा सिङ्गो गाउँ निर्भर

blog

खाङ्ग्रा गाउँमा रहेको इनारमा पानी भर्दै स्थानीय महिला । तस्विरः गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, मङ्सिर १९ गते । राजपुर गाउँपालिका –६ खाङ्ग्रा गाउँबिचमै एउटा इनार छ । सोही इनारको पानी गाउँलेले पानी प्रयोग गर्दैआएका छन् । प्रत्येक वर्ष गर्मीयाममा भने इनार सुक्ने गर्दछ । इनार सुकेपछि गाउँनजिक रहेको खोलाको पानी पिउँछन् । 

स्थानीय मङ्गलादेवी खत्री ७० घरधुरीले सोही इनारको पानी पिउने गरेको बताउनुहुन्छ । खत्रीकाअनुसार गर्मीयाम सुरु भएपछि इनार सुक्ने गरेको छ । गर्मीयाममा एक घण्टा हिँडेर पानी ल्याउने बाध्यता रहेको बताउनुभयो । खत्री गर्मीयाम सुरु भएपछि घरमा पाहुना नआए हुन्थ्यो जस्तो लाग्छ भन्नुहुन्छ । 

सोही ठाउँकी सम्झना सेन ठकुरी गाउँकै उत्पादनले वर्षभरि खान नपुग्ने भएका कारण रोजगारीका लागि पुरुषहरु विदेश जाने र पानी बोक्नुपर्ने समस्या महिलाले नै बढी झेल्नुपरेको बताउनुहुन्छ । उहाँले वैशाख–जेठ महिनामा खोला सुक्ने भएकाले जरुवा बनाएर पानीको समस्या टार्ने गरेको बताउनुहुन्छ । राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी पानीको स्रोतको पहिचान गरी खाङ्ग्रा क्षेत्रमा खानेपानी वितरण गरिने बताउनुभयो । 

उहाँले नजिकै मुहान नभएका कारण त्यस क्षेत्रमा खानेपानीको तत्काल समाधान गर्न नसकिएको बताउनुभयो । अध्यक्ष बुढाथोकीले त्यस क्षेत्रमा विद्युत्तीकरण गर्न नसकिएकाले समेत खानेपानी वितरणमा थप समस्या सिर्जना भएको बताउनुभयो । त्यस क्षेत्रमा विद्यालय, प्रहरी चौकी, एकीकृत सेवा इकाइ भएकाले खानेपानी अनिवार्यरुपमा व्यवस्थापन गर्नुपर्ने भएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।