• ८ पुस २०८१, सोमबार

दुध फालेर किसानको विरोध

blog

बिक्री नभएको दूध फाल्दै किसान ।

लीलाधर वली

घोराही, मङ्सिर १९ गते । दाङमा किसानले उत्पादन गरेको दुधले बजार नपाएपछि फाल्न बाध्य भएका छन् । शान्तिनगर गाउँपालिका–२ बाघमारेस्थित दीप कृषि सहकारी संस्थामा भण्डारण गरिएको भैँसीको दुध बिक्री नभएपछि फाल्न बाध्य भएका हुन् । 

दुग्ध विकास संस्थानले दुध खरिद गरिदिने भनी सहमति भएसँगै सहकारीले दुध खरिद गरेर सङ्कलन गर्ने गरेको भए पनि पछिल्लो समय समयमा दुध नलग्ने गर्दा किसानले यसरी दुध फाल्न बाध्य भएको दीप कृषि सहकारी संस्थाका अध्यक्ष नेवबहादुर रोकाले बताउनुभएको छ । 

विगत दुई वर्षदेखि दुध नियमित रूपमा लग्दै आए पनि पछिल्लो समय नियमित रूपमा नहुँदा किसान समस्यामा परेको भन्दै सहकारी संस्थाका अध्यक्ष रोकाले भन्नुभयो, ‘हामीले उत्पादन गरेको दुध दुई वर्षदेखि संस्थानले लग्दै आएको थियो तर पछिल्लो समय नियमित आउने गरेको छैन । १५ दिनमा एकपटक आउँदा व्यावसायिक भैँसीपालनमा लागेका किसान समस्यामा पर्नुभएको छ ।’ अध्यक्ष रोकाका अनुसार दैनिक तीन सय लिटरभन्दा बढी दुध उत्पादन हुने गरेको छ । 

वडा नं. २ मा एक सयभन्दा बढी किसानले दुध उत्पादन गरेर सहकारीलाई उपलब्ध गराउँदै आएका छन् । त्यो दुध दुग्ध विकास संस्थालाई बेच्ने र त्यहाँबाट आएको पैसा सहकारीले किसानलाई दिने गरेको थियो । तर पछिल्लो समय सम्पर्कमा पनि नआउने र बाँकी रहेका पैसा पनि नदिएपछि किसानले बाध्य भएर उत्पादन भएको दुध फालेर विरोध जनाएको किसान नरबहादुर खत्रीले बताउनुभयो । 

"दुःख गरेर उत्पादन गरेको दुध फाल्न मन थिएन",किसान खत्रीले भन्नुभयो,"बिक्रीका लागि सहकारीलाई दिएको दुध दुग्ध विकास संस्थानले नलगिदिएपछि बाध्य भएर फालेका हौँ ।" सहकारी संस्थाबाट किसानले करिब २० लाख रुपियाँ दुधको लिन बाँकी रहेको सहकारी संस्थाका अध्यक्ष रोकाले बताउनुभएको छ ।