• ८ पुस २०८१, सोमबार

बाँसका सामग्री बिक्रीबाट राम्रो आम्दानी

blog

बाँसका सामग्री बनाउँदै बीरबहादुर र सावित्री परियार । तस्बिर : लीलाधर वली

लीलाधर वली  

घोराही, मङ्सिर १९ गते । बबई गाउँपालिका–७ मलई गाउँ निवासी ४६ वर्षीय वीरबहादुर परियार र ४५ वर्षीया श्रीमती सावित्री परियार बाँसको सामग्री बिक्रीबाट घरको दैनिकी चलाउँदै आउनुभएको छ । घरमा छिटुवा, डोको, भकारीलगायतका सामग्री उत्पादन गर्दै घरपरिवारको खर्च जुटाउने काम गर्दै आउनुभएको छ । 

वीरबहादुरले सानै उमेरमा बुवाबाट छिटुवा, डोको, भकारी, डालोलगायतका बाँसबाट बन्ने सामग्री बनाउन सिक्नुभएको थियो । १२-१३ वर्षको उमेरदेखि बुवासँग बाँसका सामग्री बनाउनेदेखि बिक्रीका लागि दाङका बस्तीहरूमा पुग्नुभएका बीरबहादुर बुवाको मृत्युपछि सामान आफै बनाउनेखि बिक्री गर्दै आउनुभएको छ ।

श्रीमानले गर्ने बाँसका सामग्री बनाउने काममा श्रीमती सावित्रीले पनि साथ दिएको उहाँ बताउनुहुन्छ । घरमा कृषि व्यवसाय गर्ने जग्गा जमिन नभएपछि श्रीमानश्रीमती नै बाँसका सामग्री बुनेर परिवारको जीवन निर्वाह गर्दै आएको बीरबहादुर बताउनुहुन्छ । घरपरिवारको खर्च जुटाउनेदेखि पेट पाल्नका लागि बुबाबाजेले गर्दै आएको बाँसका सामग्री बनाउने काम रोजेको भन्दै बीरबहादुरले भन्नुभयो, "जग्गा जमिन नभएकाले परिवार पाल्नका लागि अर्काे विकल्प थिएन । त्यही भएर बुबाबाजे गर्दै आएको कामलाई आम्दानीको श्रोत बनाउने काम गर्दै आएको छु ।" बाँसका सामग्री बिक्रीका लागि बबई, दंगीशरण र शान्तिनगर गाउँपालिकासँगै तुलसीपुरमा रहेको बजारसम्म आउने गरेको बताउनुहुन्छ । सामग्री बनाउनका आफ्नै घरमा भएका बाँससँगै अन्यसँग किनेर बनाउने गरेको बताउनुहुन्छ । 

श्रीमान श्रीमातीले नै बाँसका छिटुवा, पेरुङ्गो, डोको, भकारीलगायतका सामग्री बनाउने काम गर्दै आउनुभएका दम्पतीले महिनामा २०-२५ हजार कमाउने गरेको बताउँनुहुन्छ । यसरी निर्माण गरिएका छिटुवा,डोको, पेरुङ्गो, भकारीलगायतका सामग्रीहरु साइज अनुसार दुई सयदेखि दुई हजारसम्म रुपियाँमा बिक्री गर्ने गरेको बताउनुहुन्छ । 

बाँसबाट निर्माण गरिएका सामग्री बिक्री गरेर परिवारको जीविका चलाउँदै आउनुभएका बीरबहादुरले पहिलेको तुलनामा पछिल्लो समय बाँसका सामग्रीको व्यापार घटेको बताउनुहुन्छ । "पहिले–पहिले गाउँघरदेखि सहरमा बाँसका सामग्री धेरै नै बिक्री हुन्थे । बिक्रीमा कुनै समस्या थिएन",उहाँले भन्नुभयो, "तर पछिल्लो समय प्लाष्टिकलगायतका विभिन्न सामग्री आउँदा बिक्रीमा कमी भएको छ ।" तीन सन्तानमध्ये दुई छोराछोरीले १२ कक्षासम्म पढाइ पूरा गरेका छन् भने जेठो छोरा वन रक्षकको रूपमा कार्यरत छन् । 


आफूले दुःख गरेर भएपनि छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराएर सरकारी जागिर खुवाउने लक्ष्य राख्नुभएकी सावित्री भन्नुहुन्छ, "जग्गा जमिन नहुँदा आफुले पाएको दुःख छोराछोरीले नपाउन । राम्रोसँग पढेर जागिर खाउन झै लाग्छ ।" दाङको विकट बस्तीका रुपमा रहेको मलईमा सञ्चार,खानेपानी, 

शिक्षा, विद्युतलगायत समस्या हुँदा हापुरेमा छोराछोरीलाई कोठा लिएर बसालेर पढाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, "गाउँमा खानेपानी, विद्युत, सञ्चारको मात्र असुविधा होइन । बालबालिकालाई पढ्नका लागि विद्यालय समेत छैन ।" चुनौतीका बीचमा पनि वीरबहादुर र सावित्रीले आफ्नो सीप र लगनशीलताका कारण परिवारलाई अघि बढाउन सफल हुनुभएको छ ।