• ७ पुस २०८१, आइतबार

समयभित्रै पन्ध्रौं महाधिवेशन हुने सम्भावना छैन : डा कोइराला

blog

कोशी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितका अन्य नेताहरु । तस्बिर : शशीधर पराजुली

शशिधर पराजुली

विराटनगर, मङ्सिर १८ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्धारित समयभित्र १५औं महाधिवेशन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । 

विराटनगरमा मंगलबार आयोजना गरिएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले क्रियाशील सदस्यताको विषयमा अहिले भइरहेको तयारी र व्यवहारले समयमा महाधिवेशन हुने सम्भावना नरहेको भन्दै आशंका व्यक्त गर्नुभएको हो । ‘२०८३ को मंसिर काँग्रेसको महाधिवेशन गर्नुपर्छ तर हामीले त्यस्तो सम्भावना देखिरहेका छैनौं,’ नेता कोइरालाले भन्नुभयो । 

समयमा पार्टीको महाधिवेशन सम्पन्न गराउन नेतृत्वलाई दबाब दिनुपर्ने भन्दै गाउँगाउँमा पुगेर कार्यकर्ताहरुलाई यो सन्देश दिएर दबाब सिर्जना गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । अहिलेकै तरिकाले समयमा महाधिवेशन हुने सम्भावना भने नरहेको उहाँको दाबी छ । 

नेता कोइरालाले वर्तमान सरकारले अपेक्षा अनुसार काम नगरेको सन्देश पनि भेलामा उपस्थित कार्यकर्ताहरुलाई दिनुभएको छ । संविधान संशोधन गर्ने उद्देश्य राखेर गठन भएको सरकारले संशोधनको प्रक्रिया अघि नबढाएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । 

‘सरकार  बनेको चार महिना हुन लागिसक्यो, अहिलेसम्म किन सरकारमा भएका र अरु दलहरुसँग, अरु पक्षहरुसँग छलफल भएन ?’ नेता कोइरालाको प्रश्न थियो । उहाँले सरकार गठन गर्दा भएका सहमति कार्यान्वयन गराउन कसले किन रोकेको छ भन्दै सहमति बमोजिम काम गर्नुपर्नेमा जोड दिनुभयो । 

आउँदो महाअधिवेशनमा सभापति पदमा उठ्ने विषयमा स्पष्ट शब्दमा नबोले पनि उहाँले सबैलाई आफूले सँगै समेटेर लैजान खोजेको बताउनु भएको थियो । 

प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले यतिबेला सबै मिलेर काँग्रेस पार्टी बनाउन जुट्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘यतिबेला हामीले मिलेर काँग्रेस पार्टी बनाउनु पर्छ, सभापतिको कार्यकाल एक वर्ष बाँकी छ, त्यसैले उहाँको विरोध गर्ने, वादविवाद गर्ने आदि काम नगरौं ।’

विराटनगरमा मंगलबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमको विषयलाई लिएर नेपाली काँग्रेसभित्र भने असन्तुष्टि देखिएको छ । मंगलबारको कार्यक्रममा कोशी प्रदेश समितिका महामन्त्री उमेश थापाबाहेक सभापति, उपसभापतिलगायतका पदाधिकारी र अधिकांश सदस्यहरु अनुपस्थित रहनुभएको थियो । 

प्रदेश समितिका सभापति उद्धव थापाले सोमबार सूचना जारी गरेर मंगलबार प्रदेश पार्टीले कुनै कार्यक्रम आयोजना नगरेको जानकारी दिनुभएको थियो । प्रदेशस्तरीय प्रशिक्षण आयोजना नभएको भन्ने प्रेस विज्ञप्तिका बाबजुद विराटनगरमा डा. कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । 

नेपाली काँग्रेस प्रदेश समितिले भने कोशीको प्रदेश सम्मेलन मङ्सिर २२ मा आयोजना हुने र त्यसअघि कुनै कार्यक्रम नराखिएको जनाएको छ ।  

कार्यक्रममा कोशी प्रदेशका १३७ वटै स्थानीय तहका सभापति, जिल्ला सभापतिहरु, विभिन्न जिम्मेवारीमा रहनुभएका नेताहरुलाई निमन्त्रणा गरिएको भनिएको थियो । यद्यपि भेलामा ११३ स्थानीय तहबाट प्रतिनिधित्व भएको बताइएको थियो । 

विराटनगरस्थित जैन भवन परिसरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा महाधिवेशन प्रतिनिधि, जनप्रतिनिधि, पालिका सभापतिहरु आदिको तर्फबाट मन्तव्य राख्न समय दिइएको थियो ।

बोल्ने अधिकांश नेताहरुले आगामी महाधिवेशनमा डा. शेखर कोइरालालाई पार्टी सभापति बनाउनु पर्नेमा जोड दिनुभएको थियो । कोइरालाहरुको विराशत बोकेको नेपाली काँग्रेसको नेतृत्व कोइरालाले नै गर्नुपर्ने र त्यसो भएकै कारण दिनप्रतिदिन काँग्रेस कमजोर बन्दै गइरहेको उहाँहरुको भनाइ थियो । 

पार्टीले समय समयमा प्रशिक्षण नराख्दा कार्यकर्ताहरुमा ऊर्जा हराउँदै गएको अवस्थामा आयोजना गरिएको कार्यक्रमले काँग्रेसलाई बलियो बनाउने भन्दै वक्ताहरुले कार्यक्रमको बचाउ गरेका थिए । 

सभालाई सम्बोधन गर्ने क्रममा डा. कोइरालाले पहिले नै तय गरिएको कार्यक्रम मंगलबार आयोजना गरिएको बताउनुभयो । उहाँले प्रदेश समितिको प्रेस विज्ञप्तिका कारण विचलित नहुन र नडराउन आग्रह गर्नुभएको थियो । कसैको डर, धाक र धम्कीबाट नडराइ निष्फिक्री भएर घर फर्किन आग्रह गर्दै आफूले सबैको संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो । 


यो पनि पढ्नुहोस

कोशी प्रदेशका १३७ पालिकाका सभापतिहरूको प्रादेशिक भेला