• ७ पुस २०८१, आइतबार

कोशी प्रदेशका १३७ पालिकाका सभापतिहरूको प्रादेशिक भेला

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, मङ्सिर १८ गते । मोरङको बेलबारीमा कोशी प्रदेशका १३७ पालिकाका सभापतिहरूको  प्रादेशिक भेलाको सुरु भएको छ । भेलाको दोस्रो दिन मङ्गलबार बिहान सभापतिहरू बेलबारीमा शान्ति पदयात्रा गरेका छन् ।

बिहान कार्यक्रममा सहभागी ५३ जना सभापति सहित स्थानीय काङ्ग्रेस नेताहरूले बेलबारीको लोहोन्द्रा देखि बेतना सिमसारसम्म शान्ति पैदल यात्रा गरेका छन् । बेतना सिमसारमा स्थानीय खाजा (भक्का, सेलरोटी र तरकारी) खाएर सहभागीहरू बेलबारी ३ स्थित ड्रिमलेण्ड होटलमा तीन घण्टाको प्रशिक्षण कार्यक्रम सहभागी भएका छन् । प्रशिक्षण कार्यक्रममा नेपाल जेसीसका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले सहजीकरण गर्नु हुनेछ । 

आज नै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले सम्बोधन गर्ने कार्यक्रममा सबै सहभागीहरू १ बजे विराटनगरको जैन भवनमा पुग्नेछन् । 

प्रदेशका १३७ जना गाउँ,नगर, उपमहानगर र महानगर सभापतिहरूको उपस्थिति रहने बताइएको भेलाले मुख्यतः १४ औँ महाधिवेशन पछिका अनुभव साटासाटलाई प्रमुख कार्यसूचीमा  राखेको छ । सँगसँगै सभापतिहरूको भेलाले कोशी प्रदेशको नामाकरणका विषयमा पार्टीको आधिकारिक धारणा माग गर्ने भएको छ ।

बेलबारी सभापति लिम्बूले पार्टीले राजनीतिक नियुक्ति गर्दा गाउँ नगरसँग समन्वय गर्नुपर्ने, स्थानीय पालिकासँग समन्वय नगरीकन केन्द्रीय र प्रदेशका नेताहरू जथाभाबी कार्यक्रम राख्दै हिँड्ने बेतिथिलाई अन्त्य गर्न भेलाले दिशा निर्देशन गर्ने जानकारी दिनुभयो । उहाँले यो गुटको भेला नभएर प्रदेश भरिका सभापतिहरूको अनुभव साटासाट गर्ने कार्यक्रम भएको बताउनु भयो । भेलाले १५ औँ महाधिवेशन निर्धारित समयमा नै गर्न पार्टी नेतृत्वलाई दबाब दिने भएको छ । 

कार्यक्रम आयोजक समिति सचिवालयका संयोजक राजेन्द्रबहादुर अधिकारीले झापा, मोरङ र सुनसरीका सभापतिहरू समेत बेलबारी आइपुगेको बताउनुभयो । कतिपय सभापतिहरू सिँधै विराटनगर पुग्नु हुने अधिकारीको भनाइ छ ।  विराटनगरमा काङ्ग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मोरङबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यले सम्बोधन गर्ने तयारी भइरहेको छ । 

साँझ सबै सहभागीहरू पुन बेलबारी फर्किने कार्यक्रम रहेको छ । 

यसैबिच नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति प्रकाशित गर्दै कोशी प्रदेशको मङ्सिर २२ गते हुने प्रदेश स्तरीय भेला बाहेक पार्टीको कुनैपनि औपचारिक कार्यक्रम नरहेको जनाएको छ ।