• ७ पुस २०८१, आइतबार

फाल्गुनन्द गोल्डकपको ‘एन्थम’ सार्वजनिक

blog

फाल्गुनन्द गोल्डपकको ‘अफिसियल एन्थम’ सार्वजनिक गरिँदै । तस्बिर : गोरखापत्र

राधा लुइटेल

फिदिम, मङ्सिर १८ गते । फिदिम रिपोर्टिङ क्लबले आसन्न फाल्गुनन्द गोल्डकप ‘एन्थम’  सार्वजनिक गरेको छ ।

प्रतियोगिता पुस ६ देखि १५ गतेसम्म फिदिम माविको खेल मैदानमा आयोजना हुँदैछ । ११ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताका लागि तयार गरिएको भिडियो सहितको अफिसियल गीत फिदिम नगरपालिकाको सभा हलमा एक कार्यक्रम माझ सार्वजनिक गरिएको हो ।

गीतलाई ‘फाल्गुनन्द गोल्डकपको अफिसियल एन्थम’ भनिएको छ । जिल्ला स्थित राजनीतिक दल र खेलकुद सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि उपस्थित कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले प्रमुख अतिथिको आसनबाट एन्थमको भिडियो सार्वजनिक गर्नुभयो ।

भिडियो सार्वजनिक गर्दै नगर प्रमुख काफ्लेले फाल्गुनन्द गोल्डकपले जिल्लाको प्रतिष्ठा उच्चो राख्न मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो । फाल्गुनन्द गोल्डकप जिल्लाकै पुरानो फुटबल प्रतियोगिता हो । 

पूर्वी पहाडकै चर्चित फाल्गुनन्द गोल्डकपले २०७५ सालमा दसौँ संस्करणपछि भने निरन्तरता पाउन सकेको थिएन । खेल मैदान सुधार विस्तार भएसँगै प्रतियोगितालाई निरन्तरता दिन खोजिएको आयोजक फिदिम रिपोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले बताउनुभयो । 

प्रतियोगितामा १० वटा प्रतिष्ठित फुटबल क्लबले भाग लिने थापाको भनाई छ । गायक कमल श्रेष्ठले संयोजन गर्नुभएको गीत साढे तीन मिनेट लामो छ । गीतले फाल्गुनन्द गोल्डकप पूर्वको शान हो भन्ने सन्देश दिएको छ ।