• ८ पुस २०८१, सोमबार

सडक स्तरोन्नतिको माग

blog

आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले उठाएको सवालको जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष भारतकुमार पुन । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), मङ्सिर १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६ घारमा गाउँपालिकाको आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पहिलो चौमासिकमा गाउँपालिकाबाट चालु आर्थिक वर्ष २०८१-०८२ मा सञ्चालित विकास निर्माण योजना, कार्यक्रम र सेवा प्रवाहको अवस्था लगायत विषयमाथि सार्वजनिक सुुनुवाइ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागी राजाराम बरुवाल, हीरा खड्का, सुबोध बरुवाल, भीम गबुर्जालगायतले पोखरेबगर–घार–चित्रे–घोडेपानी सडकका विभिन्न ठाउँमा पहिरोले अवरोध बनाएको सडक स्तरोन्नति र मर्मत गर्न, घोडेपानीदेखि उल्लेरी जोड्ने सडकलाई पूर्णता दिन, कृषि एम्बुलेन्सलाई कृषकको हितमा हुनेगरी उपयोग गर्न तथा पोखरेबगर–बैसरी सडकलाई स्तरोन्नति गर्न गाउँपालिकासँग माग गरेका थिए ।

गाउँपालिकाको विभिन्न बस्तीमा बढ्दो बाँदर आतङ्क नियन्त्रण गर्न ,चालु आर्थिक वर्षका लागि स्वीकृत योजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न, बजेट निर्माण गर्दा कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकता दिनुपर्ने तथा गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन ,गाउँपालिकाको केन्द्र पोखरेबगरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न, फोहोर व्यवस्थापन गर्न र गाउँपालिकाबाट लिइने करको दर कम गर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए।

गाउँपालिका अध्यक्ष भारतकुमार पुनले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकका विभिन्न खण्डमा पहिरोले निम्त्याएको समस्यालाई समाधान गर्न सम्बन्धित योजना कार्यान्वयन कार्यालय र निर्माण व्यवसायीको निरन्तर ध्यानाकर्षण गराएको र एक्यापसँग समन्वय गर्दै पालिकाले विपद् व्यवस्थापनबाट सडकलाई मर्मत गर्न पहल थाल्ने बताउनुभयो । 

आन्तरिक आम्दानीको स्रोत बढाउन पालिकाले करको दायरालाई फराकिलो बनाउने नीति लिएको बताउँदै कृषि ,पशुुपालन ,शिक्षा स्वास्थ्य र पूर्वाधार विकास गाउँपालिकाको प्रथामिकतामा रहेको  अध्यक्ष पुनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माका अनुसार, चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्वीकृत भएका एक सय ३० वटा योजनामध्ये हालसम्म ११ वटा योजना सम्झौता भइसकेका छन् । 

अधिकांश योजनाहरु कार्यान्वयनका लागि उपभोक्ता समिति गठनको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा चालुतर्फ पाँच करोड ७३ लाख ९४ हजार आठ सय चौध र पुँजीगततर्फ दश लाख ६३ हजार पाँच सय ९४ रुपियाँ गरी कुल ५ करोड ८४ लाख ५८ हजार चार सय ९ रुपियाँ खर्च भएको प्रमु्ख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । 

उहाँले गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणको लागि जग्गा प्राप्तिको काम अन्तिम चरण्मा पुगेको जानकारी गराउनुभयो । वडा नम्बर ६ का वडा अध्यक्ष रामबहादुर खड्काले घोडेपानीदेखि उल्लेरी जोड्ने सडकमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त बजेटलाई कार्यान्वयन गर्न सम्बन्धित निकायमा निरन्तर पहल र समन्वय भइरहेको बताउनुभयो।