शेरबहादुर सार्की
बाजुरा, मङ्सिर १६ गते । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा भइरहेको उपाअध्यक्षको उपनिर्वाचनमा हालसम्म दुई हजारभन्दा बढी मत खसेको छ ।
यहाँका नौ वटा मतदानस्थलमा आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ । यो समाचार तयार पार्दासम्म दुई हजार ४६७ मत खसेको हो ।
जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अङ्गतबहादुर महतले अहिलेसम्म यहाँ ३३ प्रतिशत मात्र मत खसेकाे बताउनुभयो ।
भगवती आवि एक फुयालगाउँ केन्द्रमा क र ख विन्दासैनी आविमा दुई रुडिमा क र ख साविकको जुकोटमा ३ मा क र ख स्वामिकार्तिक मावि ४ मा क र ख भैरवनाथ मावि जेरामा ५ क गरी नौ वटा मतदानस्थल छन् ।
यी सबै मतदानस्थलमा शान्तिपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । सात हजार चार सय साठी मतदाता छन् ।
उहाँले यस स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नं एकमा एक हजार सात सय २६, वडा नं २ मा एक हजार ३३८, वडा नं ३ मा दुई हजार ७३, वडा नं ४ मा एक हजार ४१५, वडा नं ५ मा नौ सय आठ गरी सात हजार ४६० मतदाता रहेको जानकारी दिनुभयो ।
सबैभन्दा बढी जुकोट मतदानस्थलमा मत खसेको छ । यहाँ तीन सयभन्दा बढी मत खसिसकेको प्रमुख महतले बताउनभुयो ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
जसमा नेकपा (एमाले)बाट सुलोचना बुढा, नेपाली कांग्रेसबाट पुल्लीसरा शाही, नेकपा ( एकीकृत समावादी)बाट जवा शाही प्रतिस्पर्धामा हुनुहुन्छ ।
२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद खाली भएको थियो ।