• ९ पुस २०८१, मङ्गलबार

धनगढीको विकासमा पत्रकारको भूमिका महत्त्वपूर्ण

blog

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, मङ्सिर १५ गते
। धनगढी उपमहानगरपालिकाको विकासमा पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

उनीहरूले धनगढी उपमहानगरपालिकाको राम्रो पक्षलाई उजागर गर्ने र नराम्रो पक्ष सच्याउनका लागि मिडियाले खबरदारी गर्ने कार्य गरिरहेको बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव हेमकर्ण विकले भौतिक पूर्वाधार निर्माणमामात्रै नभई शिक्षा, स्वास्थ्य लगायत मानवीय पक्षस्रँग जोडिएको विकासमा ध्यान दिन धनगढी उपमहानगरपालिकालाई आग्रह गर्नुभयो ।

त्यस्तै, धनगढी उपमहानगरपालिका–३ का वडा अध्यक्ष राजबहादुर ऐरले भौतिक र मानवीय विकासका लागि धनगढी उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । धनगढीमा विकासले गति लिएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो,“कुनै पनि विकासको काम र योजना नजिक वा पहुँचको भरमा दिइएको छैन ।”

यस्तै, धनगढी उपमहानगरपालिका–६ का वडा अध्यक्ष भागीराम चौधरीले धनगढी उपमहानगरपालिकाका वडाहरूले प्राथमिकता र आवश्यकताको आधारमा काम गरिरहेको बताउनुभयो । धनगढीको विकासका लागि आफूहरू एकदमै लागि परेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले धनगढीभित्र सरसफाइमा उल्लेखनीय सुधार भएको बताउनुभयो । उहाँले राम्रो कामको प्रोत्साहन गर्ने र नराम्रो काम भएमा खबरदारी गर्ने पत्रकारको धर्म रहेको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष भुवन रिजाल, कार्यपालिका सदस्य निशा आउजी लगायतले बोल्नुभएको थियो । धनगढी उपमहानगरपालिकाको सहकार्यमा कार्यक्रम भएको थियो ।