चाँदनी आचार्य
घोडाघोडी (कैलाली), मङ्सिर १४ गते । कैलालीको लम्कीचुहा नगरपालिकाले लम्कीचुहामा आयोजना गरिएको महोत्सवको लागि तीन दिन विद्यालय बन्द गर्न आह्वान गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै महोत्सवका लागि १४ देखि १६ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई बन्द गर्न निर्देशन जारी गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीले लम्कीचुहा उद्योग वाणिज्य सङ्घको पत्रअनुसार स्थानीय बिदा दिएको भन्दै सूचना जारी गर्नुभएको हो ।
‘यही मङ्सिर ६ देखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्कीचुहा महोत्सव २०८१ मा विद्यार्थीहरूका लागि विज्ञान प्रदर्शनी, विद्यार्थीहरूको विज्ञान प्रविधिबाट आविष्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता हुने भएको हुँदा १४ देखि १६ गतेसम्म स्थानीय बिदा दिएको जानकारी गराइन्छ’ नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
महोत्सवको लागि नगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्न लगाउने नगरपालिकाको निर्देशनको अहिले सबैतिरबाट विरोध भइरहेको छ । सामाजिक सञ्जालमा शिक्षाको गुणस्तर सुधार गर्नुपर्ने दायित्व रहेको नगरपालिकाले नै महोत्सव सफल बनाउन स्थानीय बिदा दिएको भन्दै आलोचना भइरहेको हो ।
मेयर सुशीला शाही अहिले वैदेशिक भ्रमणमा हुनुहुन्छ । उपमेयर जुना चौधरीले बिदा सम्बन्धमा आधिकारिक कुनै निर्णय नभएको र आफूलाई जानकारी नरहेको बताउनुभयो ।
विज्ञान प्रदर्शनी रहेको र विद्यार्थीको नृत्य पनि रहेको हुँदा उद्योग वाणिज्य सङ्घको आग्रहपछि बिदा दिइएको वडा नम्बर ३ का अध्यक्षसमेत रहेका नगरपालिकाका प्रवक्ता लव शाहीले बताउनुभयो।