• २३ पुस २०८१, मङ्गलबार

अझै रोकिएन जङ्गली हात्तीको आतङ्क

blog

लालझाडी गाउँपालिकामा दिउँसो खेतमा आएका हात्ती ।

धनगढी समाचारदाता

धनगढी, मङ्सिर १३ गते । कञ्चनपुरको लालझाडी गाउँपालिकामा जङ्गली हात्तीको आतङ्क अझै रोकिएको छैन ।  सो पालिकावासीलाई हात्तीको झुन्डले विगत दुई महिनादेखि आतङ्कित पारेको हो । दुई जनाको ज्यानसमेत लिइसकेका जङ्गली हात्तीले कैयौँ स्थानीयको घर भत्काउनुका साथै ५०/६० बिघा जमिनमा लगाइएको उखु नष्ट गरिसकेका छन् । जङ्गली हात्तीको आतङ्कका कारण दुई महिनादेखि लालझाडीसहित कञ्चनपुरको दक्षिणी क्षेत्रको जनजीवन त्रसित छ । 

जङ्गली हात्तीले कृषि बालीमा नोक्सान गर्नुका साथै मान्छेको घर भत्काएर आतङ्कित बनाएको लालझाडी गाउँपालिका–४ का वडाध्यक्ष बहादुर रानाले बताउनुभयो । उहाँले मङ्गलबार राति मात्रै जङ्गली हात्तीले इटाहा शिविरमा चार घर भत्काएको जानकारी दिनुभयो । यसअघि सोही वडाको पर्सिया गाउँमा हात्तीले स्थानीयको घर भत्काएका थिए । “हात्तीका कारण खेतीबारीमा जान र यत्रतत्र हिँडडुल गर्नै गाह्रो छ,” वडा ध्यक्ष रानाले भन्नुभयो, “हात्तीले यहाँ धेरै समस्या गरिरहेका छन् ।” उहाँले वडा नम्बर ४ मा मात्रै ४७ बिघा जमिनमा हात्तीले उखु खेती नष्ट गरिसकेको जानकारी दिनुभयो । 

किसानको खेतमा दिउँसै हात्तीको झुन्ड पुग्ने गरेको छ । खेतमा आएका हात्तीलाई डोजर, ट्याक्टरले स्थानीयले धपाउने गरेका छन् । हात्ती धपाउने क्रममा गत असोजमा हात्तीकै आक्रमणबाट वडा नम्बर ४ का कृषक रामदल रानाको ज्यान गएको थियो । सो घटनाको हप्ता दिनपछि जङ्गली हात्तीले बेलौरी नगरपालिका–६ का २२ वर्षीय उमेश चौधरीको पनि ज्यान लिएको थियो । 

लालझाडीमा जङ्गली हात्तीको आतङ्क रोकथामका लागि प्रदेश र सङ्घीय सरकारले कुनै चासो नदेखाएको गाउँपालिका अध्यक्ष निर्मल रानाले गुनासो गर्नुभयो । “हात्तीले दिनदिनै नोक्सान गरेकै छन् । घर भत्काएका छन्,” उहाँले भन्नुभयो, “गाउँपालिकाले मात्रै कतिसम्म कोसिस गर्ने ? रोकथामका लागि प्रदेश र सङ्घीय सरकारले केही गर्नु पर्दैन ?” 

लालझाडी कोरिडोर र दुधुवा नेसनलपार्कको बिचमा पर्ने लालझाडी गाउँपालिकामा यस वर्ष असोज महिनादेखि जङ्गली हात्तीको आतङ्क सुरु भएको छ । धान पाक्ने बेला आएको जङ्गली हात्ती अझै लालझाडी मोहना वन संरक्षण क्षेत्रतिर रहेको डिभिजन वन कार्यालय कुण्डाका वन अधिकृत दिनेशकुमार यादवले बताउनुभयो । जङ्गली हात्तीलाई उखु बढी मन पर्ने गरेका कारण उखु बालीमा बढी नोक्सान गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।